काठमाडौं– भक्तपुरको सानोठिमी क्याम्पस हाताभित्र निर्माण गरिएको बहुउद्देश्यीय भवन हस्तान्तरण नहुँदै चुहिन थालेको छ।
उक्त भवन ठेकेदार कम्पनी ‘आरयू मैनाली कन्स्ट्रक्सन’ र टीडीआर कन्स्ट्रक्सन प्रालिले ५ करोड लागतमा निर्माण गरेका हुन्।
५ करोड लागतमध्ये क्याम्पस प्रशासनले १ करोड ७२ लाख भुक्तानी गर्न बाँकी छ। करिब ४० लाख रुपैयाँ भवन निर्माणपछि पनि मर्मतलगायत कामका लागि आवश्यक हुने भएकोले अहिले १ करोड ३० लाख रुपैयाँ भुक्तानी माग गर्दै निर्माण कम्पनीले क्याम्पस प्रशासनमा बिल बुझाएको छ।
१८ महिनामा निर्माण सम्पन्न गरिएको तीनतले भवनमा ९ वटा सटर छन्।
निमित्त क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु अहिलेकै अवस्थामा भवन बुझ्न नहुने अडानमा छन्।
भवन निर्माणमा चरम लापरबाही भएकाे भन्दै नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस एकाइले छानबिन माग गर्दै विज्ञप्ति निकालेकाे छ।
विज्ञप्तिमा ५ करोड विगोसहित जरिवाना असुल उपर गर्न क्याम्पस प्रशासन र सरोकारवाला निकायसँग माग गरिएको छ।
स्ववियु सदस्यसमेत रहेका नेविसंघ क्याम्पस एकाइका कार्यवाहक अध्यक्ष यङजोर कार्कीले भवन निर्माण गर्दा क्याम्पस प्रशासनको मिलोमतोमा कमसल सामग्री प्रयोग गरिएको बताए। उनले भने, ‘कमजोर भवन बनाउन संलग्नमाथि छानबिन गरी कारबाहीको माग गर्दछौं।’
अनेरास्ववियु सानोठिमी क्याम्पस एकाइका संयोजक प्रकाश केसीले पनि भवनमा अनियमितता भएको प्रस्ट देखिएको बताए। ‘यस्तो अवस्थाको भवन क्याम्पस प्रशासनले बुझ्नु हुँदैन,’ उनले भने।
निमित्त क्याम्पस प्रमुख गेमप्रसाद गुरुङले आफू भर्खरै निमित्तको जिम्मेवारीमा आएकाले धेरै कुरा जानकारी नभएको बताए। उनले भने, ‘भवनको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। छलफलमा छौं, यथास्थितिमा स्वीकार गर्दैर्नौं।’
क्याम्पसको प्रशासन प्रमुख रामहरि फुँयालले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन्। उनले आफू पनि मिडियाको मालिक भएको बताए। उनले भने, ‘म टिभी टूडेको अध्यक्ष हुँ। पत्रकार हामीले पनि चिनेका छौं।’
फुँयालले क्याम्पस हाताभित्र प्रवेश गरेको भन्दै नेपाल समय टीमसँग आक्रोश पनि व्यक्त गरे। त्यस्तै पटकपटक सम्पर्क गर्दा पनि ठेकेदार कम्पनीको फोन उठेन।
नेविसंघ क्याम्पस एकाइको विज्ञप्ति
