विराटनगर– प्रदेश १ सरकारलाई स्वीस सरकारले शुक्रबार दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गरे ।
पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताए । उनले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने बताए ।
पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताए । उनले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझैपनि सावधानी अपनाउन आवस्यक रहेकोमा जोड दिए ।
स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने क्षमता भएको बताउनुभयो । प्रदेश सरकारलाई यसअघि तिब्बत सरकारले पनि २ वटा पीसीआर मेसिन हस्तान्तरण गरेको थियो ।