काठमाडौं– दुई महिना अघिसम्म नेकपा (एमाले)का नेता भीम रावलको नजरमा नेपाली राजनीतिका सबैभन्दा खराब पात्र थिए– केपी ओली। ओलीको सत्तोसराप गरेर नथाक्ने रावल ओलीलाई ‘नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संविधानको हत्यारा’ भन्थे। प्रतिनिधिसभा विघटन गरेर ओलीले निरंकुशता लाद्न खोजेको, मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजेको, राज्यसत्ताको चरम दुरुपयोग गरेको, राष्ट्रघात गरेको जस्ता अनेक आरोप रावलले ओलीलाई लगाउँथे सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरुमा।
ओली पनि के कम! रावलविरुद्ध विषवमन गर्न ओलीलाई केले रोक्थ्यो र। हरेकजसो सार्वजनिक कार्यक्रममा रावलविरुद्ध कटु वचन बोल्थे ओली। एमालेमा किचलो बढ्दै गएपछि उपाध्यक्ष रावलसहित नेताहरु कारबाहीमा परे। ०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले ब्युँताइदिएपछि पार्टीभित्र संघर्ष चर्किएको थियो र अध्यक्ष ओलीले आफ्ना आलोचकहरुमाथि कारबाहीको डण्डा चलाउन थालेका थिए। पहिलो चरणमा कारबाही भोग्नेमा परेका थिए भीम रावल।
०७७ चैत ८ गते ओलीले रावल र वरिष्ठ नेता माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेका थिए। चैत १२ गते दुवैले लिखित जवाफ दिए। त्यसको ४ दिनपछि चैत १६ गते ओलीले नेपाल र रावल ६ महिनाका लागि निलम्बनमा परे। त्यसपछि पनि ओलीको पेलानमा रावल परिरहे र आरोप–प्रत्यारोप पनि चलिरह्यो।
अहिले पनि परिदृष्य बिलकुल फेरिएको छ। पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेता रावलले गत साउन ४ गते नै लिएका थिए यु–टर्न, जुनदिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदै थिए। देउवाले संसद्बाट विश्वासको मत लिने तयारी हुँदै गर्दा रावलले ‘अनैतिक राजनीतिक खेलमा सहभागी नहुने’ भन्दै सांसद पदबाट राजीनामा दिने घोषणा गरे। त्यसपछि माधव नेपालको साथ छाड्दै गएका रायल विस्तारै ओलीतिर मोडिएका हुन्।
अहिले पनि परिदृष्य बिलकुल फेरिएको छ। पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
रावल तिनै हुन्, जसले सबैभन्दा पहिले एमाले फुटाउनुपर्छ भनेर मुख फोरेका थिए। एमाले नब्युँतिदै तत्कालिन नेकपाको दाहाल–नेपाल समूहको बैठकमा उनले ओलीको मनपरी रोक्न पार्टी विभाजन गरेर भए पनि अघि बढ्नुपर्ने तर्क अघि सारेका थिए। एमाले ब्युँतिएपछि पनि उनले निरन्तर नेता नेपाललाई ओलीको मनपरी र दादागिरी सहन नसकिने भन्दै नयाँ पार्टी खोलेर अघि बढ्नुपर्ने दबाब दिँदै आएका थिए ।
पार्टीमा अन्तरसंघर्ष चर्किंदा वरिष्ठ नेता नेपालको सबैभन्दा नजिक रहेका रावलकै सल्लाहबमोजिम नयाँ पार्टी दर्ताका विषयमा छलफल अघि बढेको बताइनछ। तर, एमाले फुटाएर जब नेता नेपालले नयाँ पार्टी दर्ता गरे, रावल नेपालको साथ छाडेर ओलीको कित्तामा उभिए।
रावललगायत आफूलाई एमालेको तेस्रो धार भनेर दाबी गर्ने दश नेताले साथ नदिएपछि माधव नेपालले एक सार्वजनिक कार्यक्रममा दुखेसो पोख्दै भनेका थिए– जसले नयाँ पार्टी खोल्न उचाले, उनीहरु नै पछाडि फर्केर हेर्दा बेपत्ता भइसकेका रहेछन्। खै कसको विश्वास गर्नु?’
किन भए यु–टर्न?
माधव नेपाल निकट एक नेताका अनुसार रावलले नयाँ पार्टीमा आफूलाई कार्यकारी उपाध्यक्ष दिनुपर्ने माग गरेका थिए। उनको अर्को शर्त थियो, सरकारमा जाँदा आफूलाई गृह मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने। तर, नेता नेपालले रावलका मागलाई खासै महत्व दिएनन्। ओलीसँगको वारपारको लडाइँ टुंगो लगाउनुको साटो पदका लागि देखाएको आशक्ति नेपालले मन पराएका थिएनन्।
त्यसो त नेपाललाई रावलप्रति विश्वासमेत घट्दै गएको थियो।
एमालेभित्रको विवाद मिलाउन गठन गरिएको कार्यदलमा नेपालले रावललाई आफू पक्षको संयोजक बनाएका थिए। ‘तर, रावल विवाद मिलाउने भन्दा पनि आफ्नो सेटलमेन्ट कसरी गर्ने भन्ने कुरामा केन्द्रित भएको देखियो। यता नेपालसँग पनि कुरा गर्ने उता केपी ओलीसँग पनि डिल गर्ने गरिरहेको पाइयो। ताक परे तिवारी नत्र गोतामे भनेजस्तो शैली देखाउन थालेका रावल यता भाग नपाइने भएपछि ओलीसँगै लतारिएर बसेका हुन्,’ ती नेताले थपे।
कार्यदल बैठकमा रावलले पार्टी एकताको कुरामा जोड दिँदै आएका थिए। पछि नेपालकै असहमतिका बाबजुद १० बुँदे सहमति भएपछि रावलले ‘सहमति भइसक्यो’ भनेर प्रतिक्रिया दिँदै आएका थिए। १० बुँदे सहमतिमा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने कुरा उल्लेख छ। सोही सहमति कार्यान्वयन हुने भन्दै रावलसहितका नेताहरु ओलीसँग समाहित भएका छन्।
आफूसँग आएपछि ओलीले रावललाई ‘१० बुँदे सहमतिअनुसार सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिने र पार्टीमा उच्च प्राथमिकता दिने’ वचन दिएर फकाउने प्रयास गरे। आगामी महाधिवेशनमा सहकार्यको समेत प्रस्ताव गरे। नेता नेपालबाट नपाएको लाभ एमालेमै बस्दा पाइने देखेपछि ओलीविरोधी रावल ओलीलाई नेता मान्न तयार भएको नेकपा (एस) का नेताहरु बताउँछन्। ‘त्यसपछि उनले राजीनामाको फन्डा रचे, माधव नेपालको साथ छाडेर स्वतन्त्र हुन खोजेझैं गरे र अन्ततः ओलीलाई नेता मानेर एमालेमा बसे,’ नेकपा (एस)का एक नेताले भने।
ओलीले वचन दिए, गरेनन् कार्यान्वयन
एमाले अध्यक्ष ओलीले रावललाई पार्टी नछाड्न आग्रह गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने र सबै नेताहरुलाई पुरानै जिम्मेवारी दिने प्रतिवद्धता जनाएका थिए। तर, जब रावलले माधव नेपालको साथ छाडेर एमालेमै बस्ने निर्णय गरे, त्यसपछि ओली फेरि बदलिए। गत भदौ २७ गते रावललाई आफ्नो निवास बालकोटमा बोलाएर ओलीले प्रष्टसँग भनिदिए– ‘१० बुँदे सहमति हुबहु कार्यान्वयन हुँदैन। सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुनेछन्।’ (रावललाई कारबाही गर्दै ओलीले गएको फागुन २३ गते भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्ज तोकेका थिए)।
अप्ठेरोमा साथ दिने नेताहरुको जिम्मेवारी खोस्न नसकिने भन्दै ओलीले रावललाई उपाध्यक्षको भूमिकामा काम गर्न भनेका छन्। साथै सुदूरपश्चिम प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत स्पष्ट पारेका छन्।
यसबाट के प्रष्ट हुन्छ भने रावललाई सुदूरपश्चिममा कुनै भूमिका दिन अध्यक्ष ओली तयार छैनन्। ओलीको पछिल्लो शैलीबाट रावल पुनः असन्तुष्ट बनेका छन्। उनी आफू अन्यायमा परेको आफू निकट नेताहरुसँग बताउन थालेका छन्। सुदूरपश्चिम प्रदेशमा एकछत्र राज गर्दै आएका रावल त्यही क्षेत्रमा पार्टीबाट अपमानित हुनु परेपछि आफ्नो राजनीतिक भविष्य नै संकटमा परेको महसुस गर्न थालेको उनी निकट एक नेताले बताए। ‘उहाँ अहिले आफूमाथि अध्यक्ष ओलीले अन्याय गरेको बताउन थाल्नुभएको छ,’ ती नेताले भने।
अप्ठेरोमा साथ दिने नेताहरुको जिम्मेवारी खोस्न नसकिने भन्दै ओलीले रावललाई उपाध्यक्षको भूमिकामा काम गर्न भनेका छन्। साथै सुदूरपश्चिम प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत स्पष्ट पारेका छन्।
पार्टी एकताको रटान लगाउँदै आएका रावल अहिले यता न उता जस्तो भएका छन्। न ओलीले १० बुँदे सहमति कार्यान्वयन गरे, न त माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जान अब नैतिकताले नै दियो।
भदौ २७ मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै भएको स्पष्ट रुपमा बताए पनि रावलले आफू नै इन्चार्ज भएको दाबी गरेका छन्। २९ भदौमा धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म पार्टीको उपाध्यक्ष र सुदूरश्चिम इन्चार्जको हैसियतामा छु। पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन।’
उता, अध्यक्ष ओलीबाट प्रदेश इन्चार्जको जिम्मेवारी पाएका लेखराज भट्टले पनि आफू नै एमाले सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गरे। २९ भदौमै कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर मलाई प्रदेश इन्चार्ज तोक्नुभएको हो। इन्चार्जको विषयमा कुनै विवाद छैन।’