बुधबार, भदौ १०, २०८३

प्रहरी भन्छ– विप्लव समूह छिन्नभिन्न

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शक्ति छिन्नभिन्न भएको दाबी गरेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शक्ति छिन्नभिन्न भएको दाबी गरेको छ।

‘ठूलो संख्यामा नेताकार्यकर्ता पक्राउ परेका छन्। अझै कारबाही भइरहेको छ,’ नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘विप्लव समूह निकै कमजोर अवस्थामा पुगिसकेको छ।’

सरकारले विप्लव समूहलाई ‘आपराधिक संगठन’ ठहर गर्दै २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। त्यसलगत्तै कारबाहीमा उत्रेको प्रहरीले १६ महिनामा देशभरबाट विप्लवका एक हजार ७७१ नेताकार्यकर्ता पक्राउ गरिसकेको छ।

नेपाल प्रहरीको विशेष ब्युरोको नेतृत्वमा विप्लवका धेरै नेताकार्यकर्ता पक्राउ परेका छन्। हाल प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल (तत्कालीन डीआईजी) ले विशेष ब्युरोको नेतृत्व गरेका बेला विप्लवका धेरै कार्यकर्ता पक्राउ परेका थिए।

उच्च तहका १९ नेता पक्राउ

प्रहरीका अनुसार विप्लव समूहका उच्च तहका १९ नेता पक्राउ परेका छन्। तीमध्ये तीनजना कारागारमा छन्। १२ जना अनुसन्धानपछि छुटेका छन्। चार जनामाथि अनुसन्धान भइरहेको छ।

विप्लवका केन्द्रीय सदस्य एवं न्याय विभाग प्रमुख चूडामणि ओली पुर्पक्षका लागि बाजुरा कारागारमा छन्। केन्द्रीय सदस्य एवं सांस्कृतिक केन्द्रका अध्यक्ष माइला लामा संखुवासभा कारागार र पूर्व केन्द्रीय सदस्य एवं सगरमाथा ब्युरोका पूर्वइन्चार्ज देवानसिंह राई पनि संखुवासभा कारागारमा छन्।

केन्द्रीय सदस्य श्यामप्रसाद भट्ट, केन्द्रीय सदस्य एवं पूर्वाञ्चल इन्चार्ज उमा भुजेलमाथि अनुसन्धान भइरहेको छ। केन्द्रीय सदस्य ओमप्रकाश पुन र पूर्णिमा धामीमाथि पनि अनुसन्धान जारी छ।

पछिल्लोपटक पक्राउ पर्नेमा पुन

पार्टीका सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन २०७७ असार ३१ गते धनगढीबाट पक्राउ परेका थिए।

उनी पछिल्लो पटक पक्राउ परेका विप्लव समूहका उच्च तहका नेता हुन्।

उनीसहित अखिल नेपाल महिला संघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परिन्। धामी पुनकी पत्नी हुन्। उनीहरूलाई पनि प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो।

दुवैलाई अहिले कैलाली जिल्ला अदालतबाट म्याद थपेर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए।

उनीहरुका साथबाट प्र्रहरीले एक थान नलकटुवा पेस्तोल, एक राउन्ड गोली र पार्टीका कागजात बरामद गरेको छ। उनीहरूमाथि हातहतियार खरखजना मुद्दामा अनुसन्धान भइरहेको छ।

एक हजार ६७७ नेताकार्यकर्तामाथि मुद्दा

विप्लव समूहका पक्राउ परेका नेताकार्यकर्तामध्ये एक हजार ६७७ माथि मुद्दा चलाएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति अदालतको आदेशबाट छुट्ने र फेरि पक्राउ पर्ने क्रम बढेपछि सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटक–पटक पक्राउ नगर्न प्रहरीका नाममा अन्तरिम आदेश समेत दिएको छ।

यद्यपि, अदालतबाट छाड्न आदेश भएलगत्तै पनि प्रहरीले विभिन्न जिल्लामा मुद्दा चलेको भन्दै पक्राउ गर्दै आएको छ।

हाल विप्लव समूहका ३१ जना नेता–कार्यकर्ता प्रहरी हिरासतमा छन्। १८३ जना कारागार चलान भएका छन्। पक्राउ परेका एक हजार ५५७ जना भने छुटेका छन्।

तीमध्ये ४७ जनाले कैद भुक्तान गरेर छुटेका हुन्। ८४६ जना धरौटीमा र २२९ जना बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका छन्।

साधारण तारेखमा छुट्नेमा ३१८ जना छन्। ५३ जनालाई सोधपुक्षपछि छाडिएको प्रहरीले जनाएको छ। यस्तै ६४ जना जिम्मा जमानीमा छुटेका छन्।

४९ थान हतियार र ७०७ राउन्ड गोली बरामद

प्रहरीले विप्लवका नेताकार्यकर्ताको साथबाट ४९ थान हतियार, ७०७ राउन्ड गोली र २२ थान म्याग्जिन बरामद भएको गरेको छ।

हतियारसहित पक्राउ परेका ९० जनाबाट प्रहरीले हालसम्म ठूला र साना गरेर ४९ वटा हतियार बरामद गरेको छ।

एसएमजी ५ थान, एसएलआर १ थान, ३ थान राइफल, एयरगन १ थान, भरुवा बन्दुक ५ थान, पेस्तोल १५ थान, कटुवा पेस्तोल १८ थान र रिभल्बर २ थान बरामद भएको छ।

त्यस्तै, हतियारमा लाग्ने गोली ७०७ राउन्ड र २२ थान म्याग्जिन पनि र ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद भएको छ।

यस्ता छन् मुद्दा

प्रहरीले विप्लवका नेताकार्यकर्तामाथि सार्वजनिक हित नैतिकताविरुद्वको कसुर, अभद्र व्यवहार, राज्यविरुद्वको कसुर, विस्फोटक पदार्थ कसुर र हातहतियार खरखजना कसुरमा मुद्दा चलाउँदै आएको छ।

यस्तै संगठित अपराध, आपराधिक गतिविधि, राष्ट्रसेवक कर्मचारीलाई बाधा/विरोध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्वको कसुर, शरीर बन्धक/अपहरण र बम विस्फोटन गराई कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएर कारबाही गर्दै आएको पनि प्रहरीले जनाएको छ।

सांगठनिक संरचना

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा नेत्रविक्रम महासचिव छन्।

उनीपछि तीन सदस्यीय केन्द्रीय सल्लाहकार समिति छ। स्थायी कमिटीमा ५ जना छन्। त्यसपछि शक्तिशाली १३ सदस्यीय राजनीतिक ब्युरो छ।

पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति, जनवर्गीय संगठन मोर्चा र अन्तर्राष्ट्रिय ब्युरोसमेत छ।

पार्टीको पूर्वी कमान्ड, मध्य कमान्ड, मध्यपश्चिम कमान्ड र पश्चिम कमान्ड निर्माण गरिएको छ। १२ वटा ब्युरो रहेको विप्लवको छुट्टै सैन्य ब्युरोसमेत छ।

प्रकाशित: Jul 24, 2020| 16:15 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।