काठमाडौं- प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कीर्तिपुर नगरपालिका–४ भत्केपाटीबाट रुकुमको बाफिकोट गाउँपालिका–९ घर भई हाल काठमाडौं टोखा बस्ने २४ वर्षीय अनिल विक्रम भनिने अनिल वलीलाई पक्राउ गरेको हो।
जागिर लगाइदिने भन्दै उनले पटक–पटक गरेर साढे ३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले निजको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज बरामद गरेको छ।
त्यस्तै प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगायतका कागजातहरु समेत बरामद गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
नक्कली जस्तो देखिने नोटसहित एक जना पक्राउ
प्रहरीले एकहजारका १९ थान नक्कली जस्तो देखिने नोटसहित एकजनालाई पक्राउ गरेको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई पक्राउ गरेको हो।
एकजना ब्यक्तिले आफ्नो मोबाईल अनलाइनमा बिक्रीको लागि राखेको र सो मोबाइल खरिद गर्न फोन मार्फत सम्पर्क गरी एकजना व्यक्ति आई सो मोबाइल खरिद गर्दा दिएको साढे २० हजारमध्ये एक हजारका १९ थान नक्कली जस्तो देखिएपछि प्रहरीले पक्राउ गरेको हो।