बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुनाव स्थगित गर्ने निर्णयमा महासंघका आधा पदाधिकारी असहमत

चुनाव स्थगित गर्ने निर्णयमा महासंघका आधा पदाधिकारी असहमत

चुनावसहितको साधारणसभा स्थगित गर्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ परेको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

काठमाडौं– चुनावसहितको साधारणसभा स्थगित गर्ने नेपाल उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ परेको छ।

महासंघको तर शुक्रबार बिहान बसेको पदाधिकारी बैठकमा चुनाव सार्ने निर्णय विधानविपरीत भएको भन्दै ५० प्रतिशत पदाधिकारीले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

उपाध्यक्ष चन्द्र ढकाललगायतले संस्थापन पक्षले एकलौटी ढंगबाट क्षेत्राधिकारबाहिर गएर चुनाव मिति सारेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

महासंघको साधारणसभा साउन २६ र २७ गतेका लागि तोकिएको थियो। महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले सरकारले सभासम्मेलन गर्न रोकेको भन्दै साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले संस्थापन पक्षले चुनाव हार्ने भएपछि साधारणसभा सार्ने निर्णय गरेको आरोप लगाएका छन्।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने उद्योगी व्यापारीको सुरक्षालाई ध्यानमा राखेर साधारणसभा स्थगित गरिएको बताए। उनले भने, ‘म नेतृत्वमा जानु भन्दा साथीहरुको स्वास्थ्य मेरा लागि महत्त्वपूर्ण हो।’

उपाध्यक्ष ढकाल पक्षले भने सरकारलाई अनुमतिका लागि महासंघले पत्र पठाए पनि त्यहाँबाट जवाफ नआइसक्दै महासंघले यस्तो निर्णय गर्नु उचित नभएको जनाएको छ।

महासंघ कार्यसमितिमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी पदाधिकारी छन्।

विशिष्ट सदस्य चण्डीराज ढकाल, उपाध्यक्ष द्वय उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल तथा कोषाध्यक्ष निरक केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसी र विशिष्ट सदस्य चण्ढीराज ढकालले चुनाव सार्ने विषयमा बिहीबार नै असहमति जनाएका थिए।

प्रकाशित: Jul 24, 2020| 12:30 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्