काठमाडौं- सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ तोकेको छ। नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै धेरै हो।
हिजो बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज एकै दिन तोलामा १ हजार ३०० रुपैयाँ बढेको हो। चाँदीको मूल्य पनि प्रतितोला ११ सय ५० रुपैयाँ पुगेको छ।
लकडाउनका कारण चैत ११ देखि जेठ २५ गतेसम्म सुनको औपचारिक कारोबार भएन र नयाँ मूल्य पनि तोकिएन।
जेठ २५ मा बजार खुल्दा एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेको थियो। त्यसयता मूल्य घटबढ भइरहेको छ।
पछिल्ला दुई तीन दिनयता भने लगातार बढिरहेको छ। लकडाउन हुनुअघि चैत १० गते नेपाली बजारमा छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो।