काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले गएराति साढे ११ बजे नागार्जुन नगरपालिका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
घटना भएको साढे ३ घण्टामा रौतहटको लक्ष्मीपुर घर भई काठमाडौं डल्लु बस्ने ४० वर्षीय मोहम्मद आलम र २३ वर्षीय भारतीय नागरिक मुन्ना महमदलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
सीसीटीभी फुटेजमा देखिएको रेकर्डका आधारमा खोजी गर्दा दुवै जना पक्राउ परेका हुन्। एसिड प्रहार गर्ने भारतीय नागरिक मुन्ना रहेको र उनको बायाँ हातको केही भागमा एसिड परेर जलेको देखिएको छ।
उनले आफूले एसिड प्रहार गरेको स्वीकार गरेको एसएसपी थापाले जानकारी दिए। प्रहरीका अनुसार मोहम्मद आलम भन्ने व्यक्तिले युवतीलाई मन पराएको तर युवतीले मन नपराएपछि अर्का व्यक्तिको सहयोगमा एसिड प्रहार गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हिजो बेलुकी कोठाबाट दूध लिन निस्केकी युवतीलाई ८ बजेको समयमा एसिड प्रहार भएको थियो। उनको अनुहारको एकतर्फको भाग जलेको छ। अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत स्वयम्भूको हिरासतमा राखिएको छ।