स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम कम नभएको भन्दै सावधानीका उपाय अपनाउन आग्रह गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम कम भएर सरकारले लकडाउन नहटाएको स्पष्ट पारे।
सकेसम्म घरबाट बाहिर ननिस्कन, घरमा पाहुना बोलाएर जमघट नगर्न, धर्मसंस्कृतिका नाममा भिडभाड नगर्न उनले आग्रह गरे।
‘एसएमएस (सोसल डिस्टान्स, मास्क, स्यानिटाइजर) विधि पालना गरौं । आफू जोगिऊँ र अरुलाई पनि जोगाऊँ,’ उनले भने।
बूढाबूढी र रोगीको विशेष ख्याल गर्न, घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य रुपमा लगाउन, सार्वजनिक यातायात चढ्दा वा सार्वजनिक स्थानमा जाँदा २ मिटर टाढा बस्न र अरुलाई पनि टाढा बस्न अनुरोध गर्न डा. गौतमले आग्रह गरे।
उनले थपे, ‘बेलाबेलामा साबुन–पानीले २० सेकेन्ड मिचीमिची हात धुने, स्यानिटाइज गर्ने गरौं, हात नमिलाऔं, अंकमाल नगरौं, जथाभावी नथुकौं, हरेकलाई शंकाले हेरौं र राम्रो व्यवहार गरौं।’