काठमाडौं– झन्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्।
बिहीबार बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम मात्रै देखिएको छ।
अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ।
सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झन्डै दुई सातापछि मात्रै मजदूर र महासंघले सवारीसाधन सञ्चालनको निर्णय गरेका थिए।
अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासंघका महासचिव सरोज सिटौलाले बताए।
उनका अनुसार मर्मतपछि बाँकी सवारीसाधन पनि सञ्चालनमा आउनेछन्। चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भनिएको छ।
उनले भने, “सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ।”
सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ। यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने माग गर्दै आएका छन्।
महासचिव सिटौलाले भने, “कोही व्यक्ति नौबिसे आएर काठमाडौं आउन नपाउने गर्नु हुँदैन।”
यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बिमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बिमांक रकम उपलब्ध गराउने सहमति भएको थियो।
त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारका तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो।
श्रमिकको आवश्यक मास्क, पन्जा, स्यानिटाजर र पीपीई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ। -रासस