काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदन सेवा तत्काल सुरु नगर्ने भएको छ।
कोरोना भाइरसको प्रकोप नघटेको र अमेरिकी सरकारको सुरक्षा नीतिका कारण भिसा आवेदन तत्काल खोल्न नसकिने दूतावासले जनाएको हो।
दूतावासले भनेको छ, ‘अमेरिकी नीति, भिसा आवेदक, अमेरिकी र नेपाली कर्मचारीको स्वास्थ्यलगायतको कारणले तत्काल सेवा सुरु गर्न सक्ने अवस्था छैन।’
कोरोना महामारीको प्रकोप अनिश्चित भएकोले भिसा प्रक्रिया सुरु गर्ने समय तत्काल जानकारी गराउन नसक्ने पनि दूतावासले जनाएको छ।