बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिनियाँ जहाजबाट निगमलाई वार्षिक ५० करोड रुपैयाँ घाटा

चिनियाँ जहाजबाट निगमलाई वार्षिक ५० करोड रुपैयाँ घाटा

६ वटा चिनियाँ जहाजबाट वार्षिक ५० करोड नोक्सान व्यहोर्दै आएको नेपाल वायुसेवा निगम आर्थिक संकटमा परेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– ६ वटा चिनियाँ जहाजबाट वार्षिक ५० करोड नोक्सान व्यहोर्दै आएको नेपाल वायुसेवा निगम आर्थिक संकटमा परेको छ।
ऋण लिएर खरिद गरेको विमानको साँवा र ब्याज तिर्न नसक्दा निगम संकटमा परेको हो।

वाइडबडी विमान योजनाअनुसार सञ्चालन गर्न नसक्दा निगम आर्थिक संकटमा परेको निगमले स्वीकार गरेको छ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै आन्तरिक एवं बाह्य उडानमा ऋण सहायताबाट खरिद गरेका जहाजको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो।

निगम प्रवक्ता अर्चना खड्काले चिनियाँ जहाजसहित वाइडबडी विमानको समेत किस्ता र साँवा तिर्न नसक्ने अवस्थामा पुगेको बताइन्। खड्काका अनुसार निगमले करिब ४० अर्ब रुपैयाँ साँवा तिर्न बाँकी छ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले निगमलाई दुईवटा वाइडबडी विमान खरिदका लागि सरकारको जमानतमा २४ अर्ब रुपैयाँ ऋण दिएका थिए। निगमले ६ वटा चिनियाँ जहाजमध्ये चारवटा खरिद गर्न चीनको एक्जिम बैंकबाट ऋण लिएको छ।

उक्त ऋणको किस्ता सन् २०२१ देखि तिर्न सुरु गर्नुपर्नेछ। त्यसअघि नै निगमले ऋणबाट खरिद गरिएको विमानको साँवा–ब्याज तिर्न नसक्ने घोषणा गरेको छ।

चिनियाँ जहाज नउडाउने निर्णय गरिसकेको निगमले उक्त विमानका लागि नियुक्त गरिएका पाइलटको करार अवधि पनि नवीकरण नगर्ने भएको छ।

कोरोना महामारीका कारणले आर्थिक संकट निम्तिएको भन्दै नेपाल एयरलाइन्सले कर्मचारी कटौती गरेको छ।

निगमले करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये एक सय ४५ जनाको करार सम्झौता नवीकरण निर्णय छ।

निगमका अनुसार एक सय ४५ जनाको करार सम्झौता नवीकरण नगर्दा वार्षिक पाँच करोड रुपैयाँ जोगिनेछ।

असार मसान्तमा करार अवधि सकिएका दुई सय २५ कर्मचारीमध्ये निगमले ८० जनाको मात्र नवीकरण गरेको छ।

‘निगमको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन प्राप्त भएपछि मात्र जनशक्तिबारे आँकलन हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका कारण आन्तरिक तथा बाह्य उडान बन्द हुँदा निगमलाई आर्थिक भार परेकाले कर्मचारी कटौती गर्नुपरेको हो।’

प्रकाशित: Jul 22, 2020| 17:22 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्