सुर्खेत- दैलेखमा पहिलो पटक समुदायमा कोरोना परीक्षण गरिएको छ। समुदायमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन परीक्षण गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार समुदायका ४९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ। ठाँटीकाँध गाउँपालिका ४९ जनाको परीक्षण गर्दा वडा नम्बर १ र ३ का दुई/दुई जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर ६ का पाँच जना संक्रमण पुष्टि भएको छ।
“समुदायका ४९ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भयो,” रेग्मीले भने, “पीसीआर रिपोर्टले दैलेखमा समुदायमै कोरोना फैलिएको पुष्टि गर्याे।”
ट्राभल हिस्ट्री नभएका धेरै व्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि पहिलो पटक ठाँटीकाँधका समुदायमा कोरोना परीक्षण गरिएको उनको भनाइ छ।
यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका ६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये दुई जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठ जना शिक्षक कर्मचारी र चार जना सञ्चारकर्मी छन्।
कर्णाली प्रदेशका एक हजार सात सय ८३ जना संक्रमितमध्ये आधा अर्थात आठ सय ३९ जना दैलेखका छन्। दैलेखमा हाल ८२ जना क्वारेन्टिन र ८६ जना आइसोलेसनमा छन्।
क्वारेन्टिन खाली हुँदै गएपछि समुदायमा परीक्षणको रणनीति बनाइएको छ। तर, स्वास्थ्यकर्मी अभावले पीसीआर मेसिन फुलफेजमा सञ्चालन गर्न सकिएको छैन। दुई जना स्वास्थ्यकर्मीको भरमा पीसीआर प्रयोगशाला सञ्चालन गरिएको छ। गत असार १४ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म एक हजार पाँच सय ९३ जनाको पीसीआर परिक्षण गरिएको छ।
कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कोरोना संक्रमित भेटिएका थिए।