काठमाडौँ- लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले आज (बुधबार)बाट मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने भएको छ ।
चार महिनादेखि रोकिएको मापसे चेकिङ आजबाट नियमित रुपमा गरिने ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले जानकारी दिए । उनका अनुसार मापसे चेकिङ र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथिको कारबाहीलाई तिब्रता दिइने छ ।
ट्राफिक प्रहरीले मापसे गरेर सवारी साधन चलाएको शंका लाग्नासाथ नजिकैको मेडिकल तथा अस्पतालमा लगेर परीक्षण गराउने उनले बताए । कोभिड–१९ को संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।
लकडाउन सुरु भएपछि महाशाखाले ट्राफिक नियम उल्लघंन गरेबापत गरिने आर्थिक कारबाही पनि बन्द गरेको थियो । अब लकडाउन खुलेसँगै लेन मिच्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, नो पार्किङमा पार्क गर्ने, ओभर स्पिडमा गुडाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेहरुमाथि बुधबारदेखि कारबाही सुरु गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।
ट्राफिक नियम उल्लघंन गर्नेलाई अब चिट काटेर आर्थिक कारबाही गर्न सुरु गरिएको छ ।
यस्तै ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र कारबाही गर्ने भएको छ ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनका लागि ४५ वटै ट्राफिक कार्यालयलाई निर्देशन दिएको महाशाखाले जनाएको छ ।