काठमाडौं- झापामा पहिरोले घर पुरिँदा मंगलबार राति एक जनाको ज्यान गएको छ।
बुद्धशान्ति गाउँपालिका–७, मोतीडाँडामा पहिरोले घर पुरिँदा मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो। तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राति गएको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोले बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ। घाइते भएकाहरुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए।
पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि परिवारलाई राति नै स्थानीय चर्चमा सारिएको प्रहरीले जनाएको छ।