बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्कर्जा तीन तहमा वर्गीकरण, ब्याज बढीमा ५ प्रतिशत (कार्यविधिसहित)

पुनर्कर्जा तीन तहमा वर्गीकरण, ब्याज बढीमा ५ प्रतिशत (कार्यविधिसहित)

नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई तीन भागमा विभाजन गरेको छ। कोभिड १९– बाट प्रभावित उद्योगको पहुँच पुनर्कर्जामा पुगोस् भनेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो। 
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई तीन भागमा विभाजन गरेको छ। कोभिड १९– बाट प्रभावित उद्योगको पहुँच पुनर्कर्जामा पुगोस् भनेर केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले मंगलबार ‘पुनर्कर्जा कार्यविधि २०७७’ जारी गरेको छ।

कोभिड–१९ बाट सबैभन्दा बढी लघु घरेलु तथा साना उद्योग प्रभावित छन्। ती उद्योगलाई राहत दिन राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन तहमा विभाजन गरेको छ।

कार्यविधिअनुसार उद्यमी आफैंले सञ्चालन गरेका उद्यम, व्यापार तथा व्यवसायमा प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ। यसको सीमा १५ लाख रुपैयाँसम्म र ब्याजदर बढीमा ५ प्रतिशत हुनेछ।

विशेष पुनर्कर्जाअन्तर्गत बैंकले विशेष प्राथमिकता दिने गरी प्रदान गरिने कर्जा पर्दछ। यसअन्तर्गत सञ्चालनमा रहेका निर्यात, महिला उद्यमी, फरक क्षमताका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जा पर्दछ। यस्तो कर्जाको ब्याज भने ३ प्रतिशत छ।

लघु, घरेलु तथा साना उद्योग र विशेष प्रकृतिका उद्योगलाई दिइने बाहेक सबै प्रकृतिका उद्योगका लागि दिइने कर्जा साधारण पुनर्कर्जा हो। यो कर्जा बढीमा २० करोडसम्म पाइन्छ भने यसको ब्याज पाँच प्रतिशतसम्म छ।

राष्ट्र बैंकले कोभिड १८ ले प्रभावित गरेका ऋणीलाई दिइने पुनर्कर्जा दुई वर्षका लागि दिएको छ। यस्तै एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ।

राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुनेछ। ग्राहकको मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुने कार्यविधिमा उल्लेख छ।
पुनर्कर्जाका लागि लघुवित्त संस्था र वाणिज्य बैंकसमा निवेदन दिन सकिनेछ।

यस्तो अवस्थामा पाइँदैन पुनर्कर्जा

व्यक्तिगत प्रयोजनमा लिएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जा पुनर्कर्जा मानिने छैन।

व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य नमानिने राष्ट्र बैंकले जनाएको छ।

यस्तै पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जामा पुनर्कर्जा दिइने छैन।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसायमा पनि यस्तो सुविधा छैन। मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायमा प्रवाहित कर्जा र बैंकले समयसमयमा तोकेका अन्य कर्जालाई पुनर्कर्जा नदिइने राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित: Jul 21, 2020| 19:01 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्