काठमाडौं– विदेश पठाइदिने भन्दै लामो समयदेखि बन्धक बनाएर राखेको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार एक युवालाई लिबियाको मिल्क पाउडर कम्पनीमा काम लागाइदिने भन्दै प्रलोभनमा देखाएर पैसा लिएर बन्धक बनाउने चितवनका उद्धव घतानीलाई पक्राउ गरेको हो।
उनले पीडितबाट एक लाख ६० हजार नेपाली रुपैयाँ र एक हजार अमेरिकी डलर लिएर ९ महिनासम्म बन्धक बनाएर राखेको आरोप लागेको छ।
त्यसैगरी तीन जना नेपाली महिलालाई कुबेत पठाइदिने भन्दै भारतको नयाँ दिल्ली पुर्याएर अपार्टमेन्टमा बन्धक बनाइ राख्ने नरबहादुर श्रेष्ठ (गोरे)लाई पनि व्यूरोले पक्राउ गरेको छ।
गोरेलाई झापाको मेची नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको व्यूरोका प्रवक्ता गोबिन्द थपलियाले जानकारी दिए। बन्धक बनाएर राखेका महिलालाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले यसअघि नै उद्धार गरिसकेको छ।
लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाका फरार अभियुक्तहरुको खोजीका लागि ब्यूरोले इन्टेलिजेन्स टोली परिचालन गरेको जनाएको छ। उनीहरुविरुघ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान र कारवाही हुने व्यूरोले जनाएको छ।