काठमाडौं– वाणिज्य बैंकहरुले चार दिनमा ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस्तै ९९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघको विवरणअनुसार असार २६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३३ खर्ब ८८ अर्ब थियो। त्यसपछिका चार दिनमा निक्षेप ९९ अर्ब रुपैयाँले बढेर ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।
कर्जा पनि चार दिनमा ४२ अर्ब रुपैयाँले बढेको छ। असार २६ गतेसम्म २८ खर्ब ४२ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह असार मसान्तमा २९ खर्ब ३ अर्ब पुगेको छ।
असार सरकारको सबैभन्दा बढी खर्च हुने महिना हो। सरकारबाट यही समयमा भुक्तानी हुने भएकाले बैंकमा रकम जम्मा गर्दा निक्षेप ह्वात्तै बढेको संघको विवरणमा उल्लेख छ।
सरकारलाई बुझाउनुपर्ने कर विभिन्न व्यवसायीले ओडी (ओभर ड्राफ्ट) बाट कर्जा लिएर बुझाएका कारण चार दिनमा धेरै कर्जा प्रवाह भएको हो।
कोभिड–१९ का कारण बजारमा आर्थिक क्रियाकलाप शिथिल हुँदा निक्षेप र कर्जामा समस्या हुने वाणिज्य बैंकहरुले बताउँदै आएका थिए।
यस्तो अवस्थामा पनि निक्षेप र कर्जा प्रवाह वृद्धि हुँदा देशको अर्थतन्त्रमा कोभिड–१९ को खासै असर नपरेको राष्ट्र बैैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले गत असारमा ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।