काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडास्थित टहरोभित्र १०–१२ जनाको समूह मंगलबार बिहानको खाना खाइरहेको थियो।
तीन दिनदेखि लगातार परेको झरी रोकिएको थिएन। खाना खाएर नभ्याउँदै टहरो रहेको पूरै जमिन एक्कासि भासियो।
हिँड्न सक्नेहरु सबैले भागेर ज्यान जोगाए। तर, तीन वर्षका सचिन राना र सन्ध्या रानाका लागि भने त्यही पहिरो काल बनेर आयो।
‘सबै सँगै खाना खाइरहेका थियौं। एक्कासि पहिरो आएर छोराछोरीलाई पुरिदियो’, मृतकका बुबा रामकुमार रानामगरले सुनाए, ‘सँगै जन्मिएका हुन् सँगै गए।’ सचिन र सन्ध्या जुम्ल्याहा हुन्।
पहिरो जाँदा आफूहरू दौडेर बाँचे पनि छोराछोरी भने खाना खाइरहेको थालीमाथि नै च्यापिएको रामकुमारले बताए। प्रहरी र स्थानीयले शव निकालेका छन्।
धनकुटा भीरगाउँ गाउँपालिका–२ गुराँसेका रामकुमारको पाँच जनाको परिवार सोही टहरोमा बस्दै आएको थियो।
रामकुमारसहित उक्त टहरोमा बस्ने १०–१२ जना मजदुरको समूह हो। उनीहरू सडक किनारमा पर्खाल बनाउने काम गर्दै आएका थिए।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले मजदुर बस्ने टहरोसहित सबै सामान र खाद्यान्न पहिरोले पुरेपछि उनीहरू अलपत्र परेको बताए।