विराटनगर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले कृषकलाई १ करोड १४ लाखको आधुनिक यन्त्र वितरण गरेको छ ।
आधुनिक यन्त्रको प्रयोग गरि उत्पादन वृद्धि गर्नुका साथै व्यवसायीकारण गर्नका लागि विभिन्न कृषि उपकरण वितरण गरिएको परियोजनाले जनाएको छ ।
मोरङका माछा तथा धान जोनमा आवद्ध किसानलाई कृषिका आधुनिक उपकरणहरु माछा जोनमा आवद्ध १६ जना किसानलाई ३४ लाख बरावरको माछा पोखरीमा पानी पटाउन एक–एक थान मोटर पम्प, माछा तौल गर्न ४१ जना किसानलाई डिजिटल काँटा, ५९ जना किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ वटा एरियेटर लगायतका उपकरण प्रदान गरिएको हो ।
धान जोनसँग आवद्ध किसानले प्रयोग गर्ने गरी ८० लाख मूल्य बरावरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईटा ट्रयाक्टर, दुईटा ट्रलि, दुईटा रोटाभेटर, दुईटा कल्टीभेटर र दुईटा केजविल वितरण गरिएको हो ।
एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र वोरामा प्याक गर्ने परियोजना इकाई कार्यालयका प्रमुख विनोदकुमार मण्डलले वताए । हार्वेष्टर लगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्ने छन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगरले रुपान्तरण कृषि सहकारी संस्था रतुवामाई–८ का अध्यक्ष गणेश उप्रेतीलाई हस्तान्तरण गरे । मन्त्री मगरले कृषि उपकरणको सही प्रयोगबाट उत्पादनमा वृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।