काठमाडौं– नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिविमा गरिएको तालाबन्दीप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्।
दुवै संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी वार्ता र समझदारीको ढोका नै बन्द गरी तालाबन्दी जस्तो कठोर कदम चाल्नु उपयुक्त नहुनेमा जोड दिएका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादवप्रकाश लामिछाने र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक रमेशप्रसाद भट्टराईद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कदम तुरुन्त फिर्ता लिएर वार्तामा बस्न हामी प्राध्यापक मित्रहरूमा आग्रह गर्दछौं। त्रिवि पदाधिकारीले पनि मागको सम्बोधनका बारेमा वार्ताको वातावरण तयार पारी समस्याको समाधान गर्न हामी हार्दिक आग्रह गर्दछौं।’
त्रिविसमक्ष पटकपटक राखिएका माग र ज्ञापनपत्रको सुनुवाइ नभएको तथा वार्ता समितिका नाममा झारा टारेर प्राध्यापकहरको मानमर्दन गरेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार त्रिवि उपकुलपति कार्यालय, रजिस्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो।
