बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चेपाङलाई बस्तीबाट जबर्जस्ती हटाउनु क्रूरतापूर्ण कार्य : एमनेस्टी

चेपाङलाई बस्तीबाट जबर्जस्ती हटाउनु क्रूरतापूर्ण कार्य : एमनेस्टी

चितवनको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रका चेपाङ समुदायको घर भत्काइएको घटनाको मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– चितवनको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रका चेपाङ समुदायको घर भत्काइएको घटनाको मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाएको छ।

एमनेस्टीले उनीहरूलाई वासस्थानबाट निष्कासन गर्ने कार्य तत्काल बन्द गर्न अपिल गरेको छ।

गत शनिबार चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रमा बसोवास गर्दै आएका चेपाङ जातिका मानिसको दुई वटा घरमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरी अन्य आठ वटा घर ध्वस्त पारिदिएका थिए।

घटनामा आफ्नो आवास मात्रै नभएर चेपाङ परिवारले पैसा, परिचयपत्रका साथै आफ्नो स्वामित्वमा रहेको अन्य वस्तु पनि गुमाएका थिए।

'आफ्नो आवासबाट जबर्जस्ती कसैलाई हटाउनु क्रूरतापूर्ण कार्य हो। पहिल्यैदेखि अति सीमान्तकृत उक्त समुदायका सदस्यको जीवन जोखिममा पार्ने गरी आगजनीका साथै हात्तीद्वारा आक्रमण गराउँदै आवास ध्वस्त पार्ने तथा उनीहरूको स्वामित्वमा रहेका निजी सरसामानसमेत नष्ट पार्ने कार्य मानवअधिकारको उल्लंघन हो', एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

एमनेस्टीले चेपाङ समुदायका मानिसलाई संरक्षण गर्न, उनीहरूलाई आफ्नो आवासबाट ननिकाल्न, जबर्जस्ती निष्कासित मानिसहरूलाई वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।

निकुञ्जका अधिकारीहरूले स्थानीय सरकारका अधिकारीहरूलाई समेत जानकारी नदिई यस्तो कार्य गरेको एमनेस्टीले जनाएको छ।
घर गुमाएका चेपाङ समुदाय अहिले नजिकैको स्कुलमा आश्रय लिइरहेका छन्।

'वर्षायामको यो समयमा अति नै सीमान्तकृतमध्येको यो समुदायका मानिसहरूलाई नेपालका अधिकारीहरूले उनीहरूको भूमि र आवासबाट बेदखल गरी आवासविहीन बनाइदिने गरी गरेको यो कार्य डरलाग्दो छ', थपलियाले भने।

प्रकाशित: Jul 21, 2020| 14:43 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।