बुधबार, भदौ १०, २०८३

‘मेरो जन्म किन भयो जस्तो लाग्थ्यो’

परिवारबाट त नराम्रो व्यवहार भएन तर गाउँमा यसको संगत गर्नु हुँदैन। तँ पनि त्यस्तै हुन्छस् भनेर साथीहरुसँग संगत गर्नै दिँदैनथे।’
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

‘सानैदेखि केटाको जस्तो व्यवहार गर्थे‌ँ। मेलापात जाँदा लाठेको काम गर्थें। पँधेरोबाट गाग्री काँधमा बोकेर ल्याउँथें।’

छोरीका रूपमा जन्मिएका कास्की रूपा गाउँपालिकाका राज सिलवालको उमेर १३–१४ वर्षको भएपछि शरीरमा असामान्य परिवर्तन मात्र देखिएन, चाहना पनि परिवर्तन हुन थाल्यो।

उनी सम्झन्छन्, ‘किन यस्तो भयो? म को हुँ? परिवर्तन किन? जस्ता प्रश्न मेरोसामु आयो। आफैंसँग धेरै प्रश्न गरिरहन्थें। तर मसँग जवाफ थिएन।’

परिवार आफन्तले सोध्थे– छोरी भएर पनि तिमीले किन छोराको जस्तो व्यवहार देखाएको?

यस्ता प्रश्नको उत्तर खोजिरहेका सिलवालमा एउटा एफएमको कार्यक्रम सुनेपछि आत्मविश्वास बढ्यो। सिलवाल भन्छन्– ‘एफएममा तेस्रो लिंगका बारेमा सुनेपछि म पनि तेस्रोलिंगी पुरुष रहेछु भन्ने लाग्यो। मजस्ता अरु धेरै रहेछन्।’

पोखरामा तेस्रोलिंगी पुरुष छन् भन्ने सुनेपछि उनी पोखरा आए। उनीहरूसँग भेट गरे। घुलमिल हुन थाले। अनि तेस्रोलिंगी पुरुष भनेर खुल्न थाले।

२७ वर्षीय सिलवाल अहिले परिवर्तन नेपाल कास्कीका अध्यक्ष छन्। उक्त संस्था तेस्रोलिंगीको अधिकारका पक्षमा लड्दै आएको छ।

सिलवाल भन्छन्, ‘परिवारबाट त नराम्रो व्यवहार भएन तर गाउँमा यसको संगत गर्नु हुँदैन। तँ पनि त्यस्तै हुन्छस् भनेर साथीहरुसँग संगत गर्नै दिँदैनथे।’ कतिपयले यसले त लगेर बेच्छ पनि भनेको स्मरण गर्दै उनी भन्छन्, ‘एक्लै रुन्थें, समाजले हामीप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको थिएन। एक्लै रमाउनुपर्थ्याे। मेराे जन्म किन भयाे जस्तो लाग्थ्यो।’

समाजमा जोकसैका सन्तान पनि तेस्रो लिंगी हुन सक्ने उनी बताउँछन्। उनले भने, ‘हामीले चाहेर यस्तो भएका हौं र? बाआमाले पनि यस्तो जन्माउँछु भनेर जन्माएका होइनन्।’ सिलवाल समाजले आफूहरूलाई पनि अरूसरह व्यवहार गरिदिए पुग्ने बताउँछन्।

एउटा घटना स्मरण गर्दै उनी भन्छन्, ‘साहित्यमा मेरो निकै रुचि थियो। कलम पनि चलाउँथें। पोखराको एउटा साहित्यिक कार्यक्रममा राम्रै प्रस्तुति दिएको थिएँ। तर उक्त कार्यक्रममा मलाई अपमान गरियो। साहित्यकारले पनि मेरो भावना बुझिदिएनन्। त्यसपछि साहित्यिक कार्यक्रममा जानै छाडें।’

पोखरामा धेरै तेस्रोलिंगी, समलिंगी रहे पनि कोही पनि खुलेर आउन नचाहने उनी बताउँछन्। उनी भन्छ, ‘जागिर नपाउने हो कि, घर तथा समाजबाट गरिने व्यवहारमा परिवर्तन आउने हो कि, पाइरहेको माया पनि नपाइने हो कि, विभेद हुने हो कि जस्ता कुराले गर्दा खुलेर आउन चाहँदैनन्।’

नागरिकता बनाउँदा निकै दुःख पाएको अनुभव उनको छ। ‘गाउँमा त सजिलै सिफारिस पाइयो तर जिल्ला प्रशासन कार्यालय कास्कीले लिंगमा अन्य लेखाउँदा डक्टरी रिपोर्ट माग्यो। कसरी ल्याउने? रगतमा देखिने कुरा त होइन?’ धेरै छलफलपछि नागरिकता पाएको उनले बताए। उनले भने, ‘हाम्रा लागि कुनै कानुन छैन? हामी नागरिक होइनौं?’ नागरिकताको प्रयोगै हुन नसकेको उनको भनाइ छ।

उनले भने, ‘न विदेशमा काम गर्न जान पाइन्छ, न अन्यका लागि भनेर जागिर नै खुल्छ। यता न उता को भइयो।’

राज्यले सबैलाई समान रुपमा हेर्ने वातावरण बनाउनुपर्ने सिलवाल बताउँछन्। उनी भन्छन्, ‘राज्यले हामी जस्तालाई जागिरमा कोटा छुट्याइदिनुपर्छ। तेस्रोलिंगी विवाह गर्न पाउने कानुनी व्यवस्था हुनुपर्छ।’

उनले पार्टनर पति–पत्नी भनेर खुलेर भन्न अवस्था नरहेको बताए। नेपालमा विवाह गरेर धर्म सन्तान राख्न पाउने कानुनी व्यवस्था छैन। उनले भने, ‘हामी पार्टनर लिएर बस्ने मात्र हो।’ तेस्रो लिंगी, समलिंगीलाई आधिकारिक रूपमा विवाह दर्ता गर्ने कानुन छैन।

प्रकाशित: Jul 21, 2020| 13:21 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।