पोखरा– गण्डकी प्रदेशमा मंगलबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ र स्याङ्जाका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २ पुरुष, बेनी नगरपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बागलुङको ताराखोला गाउँपालिकाका ३ पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी स्याङ्जाको फेदीखोला गाउँपालिकाका ३ पुरुषमा पनि मगलबार बिहान कोरोना पुष्टि भएको छ ।
सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म १ हजार २० जना निको भएर घर फर्केका छन् ।
प्रदेशभर कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । स्याङ्जाका २, बागलुङ र गोरखाका १–१ जनाको मृत्यु भएको हो ।