धनगढी- कैलालीको धनगढीस्थित बिभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
धनगढीमा रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय र सुदूरपश्चिम प्रदेश सभा नजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको होे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले सो ठाउँहरुमा राखिएको बम नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको जानकारी दिए । प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार सामाजिक विकास मन्त्रालय नजिक राखिएको बस्तु डिस्पोज गर्ने तयारी भैरहेको बताए ।
आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी सेती–महाकाली ब्यूरोले आज सुदूरपश्चिम प्रदेश बन्दको घोषणा गरेको छ ।
कैलाली प्रहरीले केही दिन अघि धनगढी उपमहानगरपालीका–७, बेलीबाट ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) का सेती–महाकाली ब्यूरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।
घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो ।
घोडाघोडी नगरपालिकाका उप–प्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको पाकिङ्ग गरिएका गाडीमा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
आगजनीबाट गाडीको पछाडीको भाग जलेको छ । आगजनी किन र कसले गरेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।