नेपाल पत्रकार महासंघले कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसँग छलफल गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुई हजार भन्दा धेरै पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सात सय भन्दा बढी सञ्चारमाध्यम बन्द भएको बताए।
उनले कोरोना महामारीको कारण देखाउँदै नाफामा रहेका सञ्चारगृहले समेत पत्रकारलाई रोजगारबाट बञ्चित गर्ने श्रम शोषण गरेको भन्दै त्यसका बिरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक तथा डा.प्रकाशशरण महतले पत्रकारलाई पेशाबाट बञ्चित गरिएकोप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताए। उनले पत्रकार जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताए।
उनले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धित संचारगृहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। साथै उनले पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउँदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गरे।
महासंघका पूर्व सभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुःख व्यक्त गरे। उनले विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारीले कोरोना विपदको यस घडिमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निश्काशन गर्नु अत्यन्तै अमानविय घटना भएको बताए।
कांग्रेसका नेता एनपी साउदले अहिलेको परिस्थितीमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिदै कांग्रेस सधै पत्रकारहरुको पक्षमा रहेको बताए।