कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीलाई महत्वपूर्ण सफलता मिलेको छ। उक्त विश्वविद्यालयले तयार गरेको भ्याक्सिन मानिसका लागि सुरक्षित पाइएको छ।
युनिभर्सिटीले मानिसमा परीक्षण गरेको भ्याक्सिनले कोरोनासँग लड्ने प्रतिरोधी क्षमता बढाएको पाइएको छ।
पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त भ्याक्सिन लगाइएको थियो। भ्याक्सिन लगाएका व्यक्तिमा कोरोनासँग लड्ने एन्टिबडी विकास भएको पाइएको छ। वैज्ञानिकहरूले यो नतिजालाई एकदमै उत्साहजनक भनेका छन्। यद्यपि, उक्त भ्याक्सिन सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत् स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्।
कोरोना भाइरसविरूद्धको भ्याक्सिन परीक्षणमा अक्सफोर्ड विश्वविद्यालयको यो अनुसन्धानलाई महत्वपूर्ण मानिएको छ। तेस्रो चरणको मानवीय परीक्षणका क्रममा रहेको यो भ्याक्सिनलाई लिएर यसका निर्माताहरू मात्र होइन, बेलायत र अमेरिकासमेत एकदमै आशावादी छन्।
बेलायतले अनुसन्धानको अन्तिम नतिजा आउनुअगावै विश्वविद्यालयसँग १० करोड डोज अर्डर गरिसकेको छ। अमेरिकाले पनि यो अनुसन्धानलाई तीव्रता दिन १ अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो।
अक्सफोर्ड युनिभर्सिटीले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर यो सम्भावित भ्याक्सिन निर्माण गरेको हो।
कुनै पनि भ्याक्सिनले राम्ररी काम गर्छ कि गर्दैन भन्ने कुरा त्यसले शरीरमा एन्टिबडी र टी सेल विकास गर्न सफल भयो कि भएन भन्नेमा भर पर्छ। यो भ्याक्सिन लगाइएका व्यक्तिमा १४ दिनपछि टी सेल विकास भएको थियो भने २८ दिनपछि एन्टिबडी विकास भएको थियो। तर, यी टी सेल र एन्टिबडीको प्रभाव कहिलेसम्म रहन्छ भन्ने परीक्षणबाट खुलेको छैन।
'अहिलेसम्मको परीक्षणबाट हामी उत्साहित छौं। यो भ्याक्सिनले कोरोना भाइरससँग लड्न सक्ने एन्टिबडी र टी सेल निर्माण गर्न सफल भएको छ,' अनुसन्धानमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयू पोलार्डले बीबीसीसँग भने।
बेलायतमा हुने अर्को चरणको परीक्षणमा १० हजारभन्दा बढी व्यक्तिलाई भ्याक्सिन लगाइनेछ। भ्याक्सिनको प्रभावकारिता सुनिश्चित गर्न कोरोना भाइरस तीव्र गतिले फैलिरहेका अन्य मुलुकमा पनि परीक्षण गर्ने योजना छ।
अमेरिकामा ३० हजारभन्दा बढीमा भ्याक्सिन परीक्षण गरिँदैछ भने दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिमा परीक्षण गरिँदैछ।
यो भ्याक्सिन सुरक्षित भए पनि केही साइड इफेक्ट देखिएको वैज्ञानिकहरूले बताएका छन्। ती साइड इफेक्ट हानिकारक भने छैनन्। खोप लगाइएका ७० प्रतिशत व्यक्तिमा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको थियो। यो प्यारासिटामोलले नै निको हुने अनुसन्धाताहरूले बताएका छन्।
यो वर्षको अन्त्यसम्म भ्याक्सिन प्रमाणित गरी प्रयोगका लागि उपलब्ध हुने अपेक्षा छ। सबैभन्दा पहिला स्वास्थ्यकर्मी र जोखिममा रहेका अन्य समूहलाई उपलब्ध गराउने विश्वविद्यालयको योजना छ। सबै काम योजनाअनुसार भए अर्को वर्षको सुरूबाट सार्वजनिक प्रयोगमा आउनेछ।
विश्वभरि सस्तो र सहज रूपमा भ्याक्सिन उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो। उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा भ्याक्सिन उपलब्ध गराउनेछ।