बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाका १६७ स्थान बाढीपहिरो र डुबानको उच्च जोखिममा

काठमाडौं उपत्यकाका १६७ स्थान बाढीपहिरो र डुबानको उच्च जोखिममा

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने प्रहरीको आंकलन छ ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- अविरल वर्षासँगै काठमाडौं उपत्यकाका १ सय ६७ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा परेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकाका दर्जनौ बस्ती बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् ।

काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने प्रहरीको आंकलन छ ।

त्यस्तै ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम छ । भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रहरीले गरेको अध्ययनले देखाएको छ । प्रहरीले यससम्बन्धी अध्ययन प्रतिवेदन गत महिना नै गृहमन्त्रालयमा बुझाएको छ ।

काठमाडौं उपत्यकामा वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोला र खोस्ला हुँदै बग्ने दुवैतर्फका तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनालाई जोखिमको मुख्य कारण देखाइएको छ । यसै कारण हरेक वर्ष क्षति बढ्दै गएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यी हुन् काठमाडौं उपत्यकाका जोखिमयुक्त क्षेत्र

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, कीर्तिपुर नगरपालिकाका सल्यानथान, ट्याङ्लाफाँट, सुन्दरीघाट, काठमाडौं महानगरपालिकास्थित लाजिम्पाट, टुकुचा खोलाको आसपासको क्षेत्रलाई डुबानको उच्च जोखिममा राखिएको छ ।

यस्तै तारकेश्वर नगरपालिकाको जरङखु तथा शान्ति टोल, गुम्बारनयाँपुल करिडोर, वनस्थली ढुंगेधारा क्षेत्र, धोबी खोलारमैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका थानकोट, नमुना बस्ती, ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास, लामाचौर, खड्कुलेपुल, कञ्चनबस्ती, विष्णुदेवी आसपासको क्षेत्र पनि डुबानको उच्च जोखिममा छन् ।

शान्तिनगर, सुकुम्बासी बस्ती, बुद्धनगर वाग्मती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर क्षेत्र बाढीको उच्च जोखिममा छन् । कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म वाग्मती किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ ।

दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा इलाका पहिरोको उच्च जोखिममा समेटिएका छन् ।

भूकम्पबाट क्षतिपछि सामान्य मर्मत गरिएका वसन्तपुर, झोंछे, मखन र रक्तकाली, इन्द्रचोक, असनलगायत क्षेत्रसमेत जोखिमको सूचीमा छन् ।

भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुम्बासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिममा छन् ।

ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्र पहिरोको जोखिममा छन् ।

प्रकाशित: Jul 20, 2020| 09:28 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।