कोरोना भाइरसबाट हरेक दिन रेकर्ड तोड्ने गरी संक्रमित थपिन थालेका छन् ।
विश्वभर आइतबार एकै दिनमा २ लाख ६० हजार संक्रमित थपिएकोमा सोमबार पनि २ लाख ६० हजार जनामै कोरोना पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अमेरिका, ब्राजिल र भारतमा अन्यत्रभन्दा धेरै संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा अमेरिकामा ६५ हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा २४ हजार ६ सय, भारतमा ४० हजार २ सय संक्रमित थपिएका छन् ।
दक्षिण अफ्रिकामा १३ हजार ४ सय, मेक्सिकोमा ७ हजार ६ सय, रुसमा ६ हजार १ सय, पेरुमा ४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस अहिलेसम्म १ करोड ४४ लाख ३८ हजार ८ सयभन्दा धेरैमा संक्रमण देखिएको छ भने ६ लाख ५ हजार ५० जनाको मृत्यु भएको छ ।
मृतक र संक्रमित सबैभन्दा धेरै अमेरिकामा छन्, जहाँ ३७ लाख ६३ हजार ३ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजार ४ सय ७७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ब्राजिलमा २० लाख ९८ हजार ३ सय जनामा संक्रमण देखिएको छ भने ७९ हजार ४ सय ८८ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा १० लाख ७७ हजार ७ सय भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा २६ हजार ८ सय १६ जनाको मृत्यु भएको छ ।
नेपालमा भने अहिलेसम्म १७ हजार ६ सय ५८ जनामा संक्रमण देखिएको छ भने ४० जनाको मृत्यु भएको छ ।