कोरोना भाइरसले पारेको प्रभाव आत्मसात् गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यावसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।
केबुलकारले व्यावसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह गर्दै लामो दूरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो ।
कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकसमेत सजग र सचेत भइसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यावसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।
लामो समयदेखि यी प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापूर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।