सरकारले प्राथमिकता क्षेत्र छुट्याएर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले जोखिममा भएका, विदेशबाट आएका, कोरोना संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा खटिने व्यक्तिहरुको परीक्षण गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हवाई यात्रा गरेर आउनेलाई होल्डिङ सेन्टरमा ५ दिन राखी परीक्षण गरेर मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने र स्थलमार्गबाट आउनेलाई पनि परीक्षण गरेर मात्रै सम्बन्धित स्थानमा पठाउने निर्णय भएको छ । सिंहदरबार सरसफाइमा खटिने कर्मचारीको पनि परीक्षण गरिने भएको छ ।
प्राथमिकताका आधारमा परीक्षण गर्नुपर्ने मानिसको संख्या कम हुँदै गएकाले परीक्षणको संख्या घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पोजेटिभ हुनेको प्रतिशत पनि कम हुँदै गए पनि जोखिम भने कम नभएको डा. गौतमले बताएका छन् ।
भारतमा संक्रमितको संख्या बढ्दै जानु, विदेशबाट आउने क्रम यथावत् रहनु, धेरै जनघनत्व भएका ठाउँहरुमा भिडभाड बढ्दै जानु, जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना नहुनुले जोखिम कम नभएको उनले बताए ।
विदेशबाट फर्किएका सबै व्यक्तिहरुको परीक्षणको वातावरण बनाउन सम्बन्धित पक्षलाई मन्त्रालयले अपिल गरेको छ । जोखिममा भएको सबैको परीक्षण गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले समुदायमा हुनसक्ने जोखिम पत्ता लगाउन मन्त्रालयले ४५ हजारको नमुना परीक्षण गरिरहेको छ ।