विराटनगर– प्रदेश १ मा आइतबारसम्ममा ८८ प्रतिशतले कोरोना जितेका छन् ।
गत वैशाख ५ गतेदेखि आजसम्ममा कोरोना संक्रमित भएका मध्ये ८८. ५४ प्रतिशत डिस्चार्ज भएका छन् । प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् ।
संक्रमण देखिएका मध्ये ८८ जना अहिले उपचाररत छन् । प्रदेश १ मा हाल सम्म १ जना वृद्धको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति सप्तरीका हुन् । उनको धरानमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको थियो ।
आइतबार ३ जनामा संक्रमण
प्रदेश १ मा आइतबार ३ जनामा संक्रमण देखिएको छ । सुनसरी, झापा र मोरङमा १–१ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको हरिनगर, झापाको मेचीनगर र मोरंगको बुढीगंगाका १–१ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण देखिएका ३ जनाको व्यवस्थापनको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
३५ हजारको कोरोना परीक्षण
प्रदेश १ मा आइतबारसम्म ३५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आइतबारसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आइतबार ४ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । प्रदेश १ मा स्वाव संकलन गरिएको दिन रिपोर्ट आउन थालेको छ ।
धरानबाट बढी डिस्चार्ज
प्रदेश १ मा कोरोना संक्रमित भएकाहरुको उपचारका लागि ७ वटा आइसोलेसन केन्द्रहरु छन् ।
७ वटा केन्द्र मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ सय ६६ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट २ सय ६० जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ सय ५८ जना, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढीबाट १५ जना, उद्योग वाणिज्य संघ, फुङलिङ अस्थायी केन्द्र (ताप्लेजुङ) बाट २ जना र जिल्ला अस्पताल खोटाङ, अस्थायी केन्द्रबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।