सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पर्सी मंगलबार बिहान ११ बजेका लागि सरेको पार्टीले जनाएको छ।
१० असारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र तनाव बढेको छ।
२२ असारसम्म केहीपटक बैठक बसे पनि त्यसयता स्थगित हुँदै आएको छ। आज सातौं पटक स्थायी कमिटी बैठक सरेको हो।
हिजो (शनिबार) साँझ बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको बताइएको थियो। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको समस्या समाधान छलफलबाटै निकालिने आज बोलाइएको स्थायी कमिटी बैठक नसर्ने बताएका थिए।
हिजोको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। त्यसपछि आज बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर नेताहरु उनको निवास खुमलटारमा भेला भएका थिए।
भेलाले ओलीको प्रस्ताव नमान्ने निर्णय गरेको बताइएको छ। दुई अध्यक्षबीच कुरा नमिलेकै कारण आजको स्थायी कमिटी बैठक सरेको हो।