काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेपछि प्रचण्ड समुह अलग्गै छलफलमा जुटेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु प्रचण्ड निवास खुमलटारमा अलग्गै छलफलमा जुटेका हुन् । छलफलमा वामदेव गौतम र रामबहादुर थापा सहभागी छैनन् ।
खुमलटारमा जारी छलफलमा ओलीले मंसिरमा महाधिवेशन गर्न गरेको प्रस्तावका विषयमा कुराकानी भइराखेको स्रोतले जनाएको छ । प्रचण्डले ओलीसँग महाधिवेशनमा भएको कुराकानीको विषयमा नेताहरुलाई प्रष्टाउँने प्रयास गरेका छन् ।
वरिष्ठ नेता नेपाल, खनाल र श्रेष्ठले मंसिरमा महाधिवेशन गर्न सम्भव नभएकाले यो प्रस्ताव स्विकार्न नसिकने बताएका छन् । महाधिवेशनको विषय ल्याएर ओलीले फेरि नेताहरु अलमल्याउन र आफूमाथिको संकट टार्न खोजेको उनीहरुको टिप्पणी छ ।
नेताहरुको धारणापछि प्रचण्ड तत्काल महाधिवेशन गर्न सम्भव नभएकाले ओलीको प्रस्ताव मान्न नसकिने लाइनमा पुगेको स्रोतको दाबी छ । नेताहरुको अलग्गै छलफलपछि स्थायी कमिटि बैठकमा सामुहिक प्रस्ताव लाने प्रचण्ड पक्षधर नेताहरुको तयारी छ ।
ओलीले शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गरेर सबै समस्याको समाधान खोज्न प्रस्ताव गरेका थिए । महाधिवेशनका विषयमा ओली र प्रचण्डबीच छुट्टै छलफल पनि भएको थियो ।
नेताहरु आफू पक्षधरको छुट्टै छलफलमा जुटेपछि आज (आइतबार) अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठक अन्योलमा परेको छ ।