काठमाडौं- पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला यही साउन ७ गते छुट्ने भएका छन्।
काठमाडौं जिल्ला अदालतले तोकेको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि कोइराला यसै साता जेलमुक्त हुन लागेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उच्च अदातललेसमेत सदर गरेको जिल्ला अदालतको फैसलाको सजाय घटाएर साढे आठ वर्षमा झारेका हुन्।
राणा र केसीले कोइराला आठ वर्ष ६ महिनामात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठहर्याउँदै सजाय घटाउने फैसला गरेका छन्।
असार १५ गते कोइरालाविरुद्धको मुद्दाको अन्तिम फैसला गर्दै राणा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाएका छन्।
कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत रहँदा पत्नी गीता ढकाललाई हत्या गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०७१ बैशाख ७ गते सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो। त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए।
फैसलाको पूर्णपाठ अनुसार रञ्जनले नै गीताको हत्या गरेको ठहर्याउँदै सर्वोच्चले उनको सजाय भने घटाइदिएको छ।
रञ्जन–गीताबाट जन्मेका दुई जना छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दीक्षामा अन्योल हुन गई उनीहरुको हितमा समेत दूरगामी प्रभाव पर्न जाने भन्दै इजलासले रञ्जनको सजाय घटाइदिएको हो।
‘उपरोक्त कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा आठ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले रञ्जनप्रसाद कोइरालालाई आठ वर्ष ६ महिना कैद हुने ठहर्छ’ फैसलामा भनिएको छ।
‘दुई जनाबीच भएको वादविवादपछि हात हालाहाल हुँदा रञ्जनले नै गीताको हत्या गरेको पुष्टि भएको’ सर्वोच्चको पनि ठहर छ। त्यसका लागि रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको लासजाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको व्यहोरा, घटनास्थल भेटिएका अवशेषहरु महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदन लगायतलाई अदालतले प्रमाणको रुपमा स्वीकारेको छ।
फैसलामा ‘मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्यु पश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जे जस्ता दशी प्रमाणहरु मौजुद छन् तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन। प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु रञ्जनप्रसाद कोइरालाबाटै भएको देखिन आयो।’ भनिएको छ।
२०६८ माघ ८ गते बाट हालसम्म थुनामा बसेका कोइराला सर्वोच्चको आदेश पछि साउन सात गते छुट्ने भएका छन्।