काठमाडौं- पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
शनिबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा क्षेत्रीले समग्रमा नीति राम्रै आएको भन्दै पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए।’
मौद्रिक नीतिले निजी क्षेत्र पनि उत्साही भएको भन्दै क्षेत्रीले गभर्नर महाप्रसाद अधिकारी आफैँ राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिए।
उनले भने, ‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याइएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ। होइन भने जति राम्रो ल्याए पनि कार्यान्वयन नभए यसको अर्थ हुँदैन। मौद्रिक नीतिमा खोट नरहेको औँल्याउदै क्षेत्रीले प्रभावकारी कार्यान्वयनका लागि राष्ट्र बैंकले तत्काल ‘टास्क–फोर्स’ गठन गरी त्यहीमार्फत् मनिटरिङ गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले खुसी तुल्याएको बताए।
‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने हामीले विश्वास गरेका छौँ। मौद्रिक नीतिमार्फत् बैकिङ सेवा शुल्क घटाइएको विषयलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ।’ प्रधानले भने , ‘यो धेरै राम्रो विषय हो।’ उनले पनि नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए।
‘मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ’ उनले भने, ‘यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्छ।’
उनले सहुलियतपूर्ण कर्जा मागको विषयमा नीतिमार्फत् सम्बोधन भएको भन्दै साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि सम्बोधन भएको बताए।
बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने भन्दै गोल्यानले लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या भएको बताए।
यो पटक ‘फिस्कल पोलिसी’ र ‘मनिटरी पोलिसी’ जोडेर आएको भन्दै उनले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए। साथै उनले कार्यान्वयन गर्न आफूहरुसँग पनि सहकार्य हुनुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए। उनले भने, ‘यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ हामी खुशी छौं।’
उनले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको बताए। पूनर्कर्जा अत्यन्तै राम्रो आएको र ऋणको ब्याज तिर्न ६ महिनादेखि एक वर्षसम्म समय दिइनु सकारात्मक भएको उनको भनाइ छ।
‘ब्याज र कर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो’ उनले भने, ‘मौद्रिक नीतिले रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएको छ यो राम्रो हो।’
कृषि क्षेत्रमा कर्जा बढाएर विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने उल्लेख भएकाले कृषिमा रोजगारी बढेर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विश्वास उनले व्यक्त गरे।
अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाए। उनले भने, ‘मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरियो हाम्रा माग र सुझावहरु सम्बोधन भएको छैन।’
राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनुको साटो विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतको नीतिलाई नै निरन्तरता दिएको उनले आरोप लगाए।
‘यो मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गर्यो तर हाम्रो भने डाउन पेमेन्ट १० प्रतिशत बनाउने एउटा मात्र सुझावको पनि सम्बोधन भएन’ उनले भने, ‘अटोमोवाईलको विकासबिना देशको विकास सम्भव छैन।’