अनलाइन अर्डर लिएर घरघरमा किताब डेलिभरी गरिदिने कम्पनीले पाठकलाई सुविधा मात्रै दिएका छैनन्, पठनसंस्कृतिमा पनि टेवा दिइरहेका छन्।
लकडाउनको ४५औं दिनमा बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले ‘विशेष छुटका साथ काठमाडौं उपत्यकामा निःशुल्क होम डेलिभरी’ भनेर केही किताबको फोटो फेसबुक र ट्विटरमा राखे।
त्यसपछि उनलाई दैनिकजसो किताब अर्डरसहितको फोन आइरहेको छ। पाठकले फोन गरेर मगाएको किताब बुक हिलले दैलोसम्म पुर्याइदिन्छ। पाठकको रुचि बृहत् भएकाले सबै किताब पुर्याउन नसकिएको खड्का बताउँछन्। “किताबमा लगाइएको कर, लकडाउनलगायत कारण विदेशी लेखक र प्रकाशन गृहका पुस्तक अभाव छ,” खड्का भन्छन्, “यसले समग्र पुस्तक बिक्रीमा असर गरेको छ।”
पुस्तकको बजार करिब दुई वर्षदेखि सुस्ताएको खड्का बताउँछन्। बजार ओरालो लागे पनि विभिन्न कम्पनीले ‘होम डेलिभरी’ सेवा दिँदै आइरहेका छन्।
डेढ वर्षअघिदेखि ‘थुप्रै डटकम’ ले अनलाइनमा अर्डर लिएर घरघरमै पुस्तक पुर्याउँदै आएको छ। ‘थुप्रै’ ले किताब डेलिभरीदेखि ई–बुकसम्मको सेवा दिन्छ। यसले आफ्नो अफिसियल वेबसाइटका साथै टेलिफोन, फेसबुक र इन्स्टाग्रामबाट पनि किताब अर्डर लिन्छ।
‘थुप्रै डटकम’ का सहसञ्चालक दीपेश आचार्य पायक पर्ने स्थान र धेरै अर्डर आउँदा सोही दिन नत्र भोलिपल्टसम्म काठमाडौं उपत्यकाभर डेलिभरी गर्दै आएको बताउँछन्। लकडाउन अवधिमा बन्द ‘थुप्रै’ को डेलिभरी सेवा लकडाउन खुकुलो भएसँगै पुनः सुरु भएको छ।
यसअघिभन्दा अर्डर बढेको आचार्य बताउँछन्। “मानिस बाहिर निस्कन डराएका कारण पनि अनलाइन अर्डर बढेको होला,” उनी भन्छन्, “विदेशी पुस्तक आयात नभएको र नयाँ पुस्तक बजारमा नआएकाले अपेक्षाकृत बजार छैन।”
थुप्रैले उपत्यकाबाहिरका ४० बढी स्थानमा पनि डेलिभरीको सेवा दिइरहेको छ। आचार्यका अनुसार माग काठमाडौंमै बढी छ।
‘किताब यात्रा’ ले पनि दुई वर्षदेखि डिजिटल प्लेटफर्मलाई पुस्तक होम–डेलिभरीमा प्रयोग गरिरहेको छ। ‘किताब यात्रा’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकेश भट्टराई काठमाडौंमा अर्डर भएकै दिन डेलिभरी दिने गरी सेवा प्रवाह गरिरहेको बताउँछन्। उनी भन्छन्, “दैनिक १५० बढी पाठकले दैनिक अर्डर गर्नुहुन्छ। यो लकडाउनअघिभन्दा झन्डै दोब्बर बढी हो।”
विदेशी पुस्तक पर्याप्त मात्रामा नपाउँदा पुस्तक बजारले आकार लिन नसकेको भट्टराईको बुझाइ छ। उनी भन्छन्, “विदेशी पुस्तक नहुँदा नेपाली पुस्तकको बजार पनि असर परेको छ।”
‘किताब यात्रा’ ले उपत्यकाबाहिर ४५ स्थान र देशबाहिर पनि डेलिभरी सेवा दिइरहेको छ।
विक्रेताका अनुसार पाठकको साहित्यकै किताबमा बढी रुचि छ। इतिहास र पुराना साहित्यिक किताबको अर्डर बढी आउने उनीहरू बताउँछन्।
विदेशमा बस्ने नेपालीले नेपाली पुस्तकको अर्डर गर्छन्। सबै डेलिभरी कम्पनीले उपत्यकाबाहिर र विदेशमा कुरियरमार्फत पाठकको दैलोसम्म किताब पुर्यादिन्छन्।
पाठकले ‘क्यास अन डेलिभरी’ (किताब पाएपछि नगद भुक्तानी) का साथै डिजिटल बैंकिङ कारोबारमार्फत पनि भुक्तानी गर्न सक्छन्।
बुकवर्म, सस्तोडिल डटकम, हिमाल बुक्सलगायतले पनि अनलाइनमार्फत किताब बिक्री गरिरहेका छन्। अनलाइन सपिङको विश्वविख्यात कम्पनी दराज डटकमले पनि किताब बिक्री तथा डेलिभरी सेवा दिइरहेको छ।
अनलाइनमा अर्डरमार्फत घरघरमा पुस्तक आउन थालेपछि पाठकलाई सजिलो भएको छ नै भीडभाडबाट जोगिन र सामाजिक दूरी कायम राख्न सहज पनि भएको छ।
यस्ता अनलाइन प्लेटफर्मले पुस्तकका लागि पसल चहार्दै हिँड्नुपर्ने समस्याबाट मुक्ति दिएका छन्। विभिन्न प्रकाशन गृह, फरक विधा र स्वदेशी-विदेशी सबैखाले पुस्तक पाइने हुँदा अनलाइनबाटै किताब किन्ने पाठक बढ्न थालेका छन्।
अनलाइनमार्फत बिक्री गर्नेले आफ्नो पोर्टलमा किताबको मूल्यसहित पुस्तकको कभर राखेका हुन्छन्। जसबाट आफूलाई मन लागेको किताबको मूल्य हेरेर अर्डर गर्न सकिन्छ।
किताब यात्राका सीईओ भट्टराई भन्छन्– “अनलाइन अर्डरले पाठकलाई सबै कोणबाट सजिलो बनाइदिएकाले उहाँहरुको रुचि अनलाइनमा केन्द्रित हुन थालेको छ।”
भृकुटी प्रकाशनका अध्यक्ष लिखतप्रसाद पाण्डे अहिले समग्र पुस्तक बजार खस्केको बताउँछन्। “बजार नै नभएको समयमा अनलाइनबाट हुने एकाध बिक्री नगन्य हो,” उनी भन्छन्, “अनलाइन प्लेटफर्मले पुस्तकको बजारीकरण गर्न र पठन संस्कृति विकासमा सघाउचाहिँ पुर्याउँछ।”
ई–बुक अझै समय लाग्छ
विकसित देशमा ई–बुक पढ्ने चलन नौलो होइन। किन्डल, कोबोलगायतबाट ई–बुक पढ्ने गरिन्छ। स्ट्याटिस्टा डटकमका अनुसार अमेरिका, जापान, चीन, बेलायत, क्यानडालगायत मुलुकमा सर्वाधिक ई–बुक कारोबार हुन्छ। अमेरिकामा गत वर्ष कुल किताबको १९ प्रतिशत बजार ई–बुकले ओगटेको थियो।
ई–बुकले विश्वबजारमा ठूलो हिस्सा ओगटे पनि नेपालमा भने अझै पनि ‘हार्ड कपी’ तिरै पाठकको आकर्षण देखिन्छ। दराजमा लहरै मिलाएर किताब राख्ने संस्कारजस्तै बनेको छ।
बुकहिलका अध्यक्ष खड्का प्रविधि, इन्टरनेट, भुक्तानीलगायत समस्याले नेपालमा ई–बुकको चलन आउन निकै समय लाग्ने बताउँछन्। “हार्डकपी पढ्ने बानी त अहिलेसम्म बस्न सकेको छैन,” उनी भन्छन्, “प्रविधिबाट भुक्तानी र स्वास्थ्यका कारणले पनि ई–बुकले बजार लिन समय लाग्छ।”
केही प्रकाशन गृह र अनलाइन किताब डेलिभरी गर्ने साइटले भने सानो मात्रामै भए पनि ई–बुक प्रकाशन तथा बिक्री गर्दै आइरहेका छन्। नेपालय पब्लिकेसन्सले लकडाउनकै समयमा लेखक सुजीव शाक्यको पुस्तक ‘अर्थात् परिवर्तन’ को डिजिटल भर्सन मात्रै सार्वजनिक गर्यो। नेपालयकी व्यवस्थापक स्वैजन मास्के उक्त पुस्तक ई–बुकमा मात्रै उपलब्ध हुने बताउँछिन्।
मोबाइल, कम्प्युटरजस्ता उपकरणमा पढ्न सकिने भए पनि ई–बुकका लागि किन्डलजस्तै उपकरण चाहिन्छन्। स्मार्टफोन सबैको हातमा नपुुगेको हाम्रो मुलुकमा किन्डल, कोबोजस्ता प्रविधि पुग्न सजिलो छैन।

करले घटायो बिक्री
सरकारले गत आर्थिक वर्षदेखि आयातीत किताबमा बिक्री मूल्यको १० प्रतिशत भन्सार महसुल लगाइरहेको छ। भन्सार महसुल लागेसँगै लागत महँगो पर्न गयो, यसको सोझो असर किताब व्यवसायी, प्रकाशकदेखि पाठकसम्म पर्यो। पुर्या
सरकारी अधिकारीहरू स्वदेशी मुद्रण उद्योगको संरक्षणका लागि किताबमा महसुल लगाएको दाबी गर्दै आएका भए पनि भन्सार महसुल र स्वदेशी मुद्रण उद्योगबीच कुनै साइनो छैन।
सरकारले विदेशी प्रकाशन गृहमा छापिएका किताब आयात गर्दा बिक्री मूल्यको १० प्रतिशत भन्सार महसुल लगाइरहेको छ, स्वदेशी किताबमा होइन। अहिले पनि विदेशमा प्रकाशन भएर आउने नेपाली पुस्तकको बिक्री मुल्यमा महसुल लाग्दैन।
१० प्रतिशत महसुल मात्रै होइन, गत आवदेखि ढुवानीमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) पनि थपिएकाले किताब थप महँगो भएको छ। महँगो लागतले पाठकको आकार खुम्च्याएको छ। नेपाली पाठकले धान्नै नसक्ने भएका कतिपय किताब आयातकर्ताले ल्याउनै छोडेका छन्। यसले गर्दा बजारमा विदेशी पुस्तक अभाव छ।
बुकहिलका खड्का भन्छन्, “यसले गर्दा समग्र पुस्तक व्यवसायमै मन्दी छाएको छ।”
अंग्रेजी लेखक र प्रकाशन गृहका पुस्तकको माग दैनिक आउने भए पनि बजारमा नभएकाले उपलब्ध गराउन नसकिएको किताब यात्राका सीईओ भट्टराई बताउँछन्। “करले महँगो पर्न थालेपछि आयातकर्ताले ल्याउन छोडे,” उनी भन्छन्, “यसले गर्दा पाठकको रुचि हुँदा पनि पढ्न पाएका छैनन्।”