काठमाडौं- अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट सात जनालाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुर मध्यपुर थिमीबाट सात जनालाई नियन्त्रणमा लिएको हो।
अपहरणमा परेको भनिएका धनुषा घर भई काठमाडौं टोखा बस्ने रामबाबु साहको प्रहरीले उद्धार गरेको छ।
महाशाखाका एसपी ईश्वर बहादुर कार्कीले साह अपहरणमा परेको खबर आएपछि खोजी गर्दा एक हार्डवयर पसलबाट उनको उद्धार गरिएको जानकारी दिए।
कार्कीका अनुसार बिहान प्रहरीको १०० नम्बरमा एक युवकलले फोन गरेर आफ्ना बुबालाई अपहरण गरेर लगेको जानकारी दिएका थिए। लगत्तै खटिएको महाशाखाको टोलीले पसलमा बन्धक बनाइराखेको अवस्थामा साहको उद्धार गरेको थियो।
उनलाई अपहरणको अभियोगमा सात जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई सोधपुछपछि छाड्ने तयारी भैरहेको र बाँकी तीन जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइने कार्कीले जानकारी दिए।
कार्कीका अनुसार साहको अपहरण नभएर लेनदेनको विषयमा नियन्त्रणमा लिएको खुलेको छ।
साहले टोखामा आठ आना जग्गा दिने भन्दै उनीहरुसँग २५ लाख रुपैयाँ लिएको र लामो समयदेखि पैसा पनि फिर्ता नदिएको र जग्गा पनि नदिएको खुलेको कार्कीले जानकारी दिए।
कार्कीका अनुसार साहले गत माघ ८ गते २५ लाख रुपैयाँ बैनाबापत लिएको खुलेको छ।