विराटनगर– मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज बिहान खुकुरी प्रहार भएको छ ।
पटके करको विषयलाई लिएर विवाद हुँदा उनीहरुमाथि पौने १२ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने केराबारी–१० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको अलग–अलग टोली परिचालन गरिएको थियो ।
ठकुरीले गाउँपालिका कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केराबारी–१० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्ने वित्तिकै सुरुमा चक्कु प्रहार गरेका ठकुरीले त्यस लगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर हानेको प्रहरीले जनाएको छ । चक्कु उनले कहाँबाट ल्याएका थिए भन्ने खुल्न बाँकी छ । घटनामा प्रयोग गरिएको खुकुरी र चक्कु प्रहारीले नियन्त्रणमा लिएको छ ।
कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर ल्याइएको छ । घटनामा संलग्न ठकुरीले २०७६–०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए ।
साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।