काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादको टुंगो लगाउन केन्द्रीय कमिटी बैठक बोलाउने गृहकार्य सुरु भएको छ।
यसका लागि जारी स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ भने शनिबारका लागि सचिवालय बैठक डाकिएको छ।
अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीबीच पटकपटक वान टु वान वार्ता भए पनि मूर्त रूप लिन सकेको छैन।
शीर्ष तहमा जारी विवाद समाधानका लागि भन्दै स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षले थुप्रै पटक एक्लाएक्लै गरेको छलफल परिणामुखी नभएकाले अब केन्द्रीय कमिटी बैठकको तयारीमा जुटेको एक स्थायी समिति सदस्यले बताए।
सचिवालय बैठकमा पनि सहमति हुन नसके अब बाँकी विवाद केन्द्रीय समितिमै लगेर टुंग्याउने तयारीमा अध्यक्ष दाहाल पक्षीय नेताहरू लागेका हुन्।
दाहाल निकट एक नेताले भने, ‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक छाड्नुपर्ने हाम्रो अडान हो। तर उहाँ दुवै पद छाड्न तयार हुनुहुन्न। एक पद छाड्न तयार नभएसम्म सहमति हुन सक्दैन।’
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले केपी शर्मा ओलीले प्रधानमन्त्री वा एक पद छाड्न दबाब दिँदै आएका छन्। तर ओली दुवै पद छाड्न तयार छैनन्।
बिहीबार भने नेता नेपालसहित दुई अध्यक्षले छलफल गरेका थिए। दाहाल समूह ओलीको राजीनामा माग्न नछोड्ने र ओली राजीनामा दिँदै नदिने अडानका कारण विवाद साम्य हुन सकेन।
अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘ओली सक्या गर्नुस् तर दुवै पदबाट राजीनामा दिन्न भन्नुहुन्छ। त्यसैले विवाद समाधानको एकमात्र विकल्प केन्द्रीय समिति बैठक हो।’
सचिवालयका नेताहरुले शनिबार छलफल गर्दा पनि विवाद समाधानका लागि केन्द्रीय समिति बैठकको विकल्प नरहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। उनले नेपाल समयसँग भने, ‘अहिलेकै अवस्थामा सहमति हुने देखिँदैन। सचिवालयबाट विवाद टुंगो नलागे केन्द्रीय समिति बैठक बोलाउने तयारी सुरु भएको छ।’
भारतसँग रहेको सीमा विवाद, एमसीसी अनुमोदन, सरकारका कामको समीक्षा, रुकुम घटनालागयतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक डाकिएको थियो।
भारतसँगको सीमा विवादका विषयमा सबैले धारणा राखे पनि अन्य विषयमा प्रवेशै नगरी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।
मदन भण्डारी जयन्तीका दिन प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफूलाई पदमुक्त गर्न दूतावास र होटलमा छलफल भइरहेको भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि नेताहरू उनीविरुद्ध खनिँदै आएका छन्।
यस्तै निर्वाचन आयोगमा एमाले नामक अर्को दल दर्ताका लागि निवेदन परेको विषयमा प्रधानमन्त्री ओलीले गोलमटोल जबाफ दिएपछि अन्य नेताहरू उनीप्रति थप सशंकित भए।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँगको परामर्शमा आफूलाई पदबाट हटाउन र राष्ट्रपतिलाई महाभियोग लगाउन षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद तीव्र भएको हो। साथै अकस्मात् संघीय संसद्को हिउँदै अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजेको आरोप पनि प्रधानमन्त्री ओलीमाथि छ।
सरकारका काम प्रभावकारी नभएको, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्न लागेको, पार्टीको कुरा नसुनेको जस्ता गुनासा बढ्दै गएपछि स्थायी कमिटी बैठक बोलाइएको थियो।