काठमाडौं- काठमाडौंको तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट डेरामा बस्ने युवाको मृत्यु भएको छ ।
रसुवा स्थायी घर भइ गोलढुङ्गामा बसोबास गर्दै आएका २४ वर्षीय छिरिङ तामाङको स्थानीयको कुटपिटबाट बिहीबार राति मृत्यु भएको हो ।
रक्सी खाएर राति हल्लाखल्ला गर्दै डेरातर्फ जाँदै गरेका छिरिङ र रसुवा नै घर भएका उनका साथी दोर्जे तामाङमाथि स्थानीयले चोर भन्दै आक्रमण गरेका थिए ।
राति साढे १ बजे स्थानीयको कुटपीटबाट अत्याधिक रगत बगेपछि छिरिङको घटनास्थलमै मृत्यु भएको बालाजु वृतका प्रमुख डीएसपी रन्जित सिंह राठौरले जानकारी दिए । घटनाको जानकारी पाए लगतै प्रहरी राति नै घटनास्थलमा पुगेको थियो ।
प्रहरी पुगेपछि स्थानीय भागेको डीएसपी राठौरले बताए । उनका अनुसार प्रहरीले छिरिङलाई मृत अवस्थामा भेटेको थियो भने दोर्जेलाई घाइते अवस्थामा फेला पारेको थियो ।
घटनाका विषयमा अनुसन्धान भइराखेको उनले जानकारी दिए । अनुसन्धानका लागि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।