काठमाडौं- पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा ३ बजेका लागि बैठक डाकिएको स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार त्यसअघि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भेटवार्ता भएको छ। भेटमा दुई अध्यक्षले विवाद समाधान गर्नका लागि पहल गर्न एक अर्कालाई आग्रह गरेका छन्।
प्रचण्डले राजीनामा दिएर बाटो सहज बनाउन ओलीलाई आग्रह गरेका छन् भने ओलीले राजीनामाको विकल्प खोज्न र पार्टीमा विवाद नबढाउन आग्रह गरेको स्रोतले जनाएको छ।
स्थायी कमिटी बैठक बस्नुअछि पुनः दुई अध्यक्षबीच छलफल हुन सक्ने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्रको विवाद समाधानका लागि ओली र प्रचण्डबीच पटक पटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन।
असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटीमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। राजीनामाको विवाद चर्किएसँगै नेकपा भित्रको विवाद पेचिलो बनेको छ।