पर्साको छिपहरमाई गाउँपालिकामा कार्यपालिका सदस्य सम्मिलित एक समूहले एकल महिलालाई बोक्सीको आरोपमा बर्बरतापूर्वक दुर्व्यवहार गरेकोे छ ।
उक्त समूहले वडा नम्बर ३ जयमंगलापुरकी ४७ वर्षिय एकल महिलालाई चरित्रहीनको आरोप लगाउँदै कालोमोसो दलेर, अर्धनग्न गरी कपाल काटेर गाउँ परिक्रमा गराएको घटना बाहिर आएको हो।
गाउँ कार्यपालिका सदस्य सुवास साह कानु, आफ्नैदेवर राजदेव शर्मा, सञ्जय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी सहितका व्यक्तिले बुधबार बिहान घरबाटै घिसार्दै आँगनमा ल्याएर कपाल काटी अर्धनग्न पारेर कालोमोसो दलेर पेटीकोटमै पूरै गाउँ घुमाएको खुल्न आएको छ। केही स्थानीयले प्रहरीलाई खबर गरेपछि बुडगाई प्रहरी चौकीबाट गएको टोलीले उद्धार गरेको थियो।
प्रहरीले आरोपित मुन्नीलाल परदेशी र राजदेव शर्मासहित पीडितकी देवरानीलाई बुधबार नै पक्राउ गरेको छ। गाउँपालिका सदस्य सुवास साह कानु लगायतका भने फरार छन्।
पर्सा प्रहरीले घटना जसले गराए पनि कडा कारबाही गरिने बताएको छ। जिल्ला प्रहरी प्रमुख गंगा पन्तले भनिन्, 'केही महिनाअघि पनि ती पीडितमाथि यस्तै घटना घटेको कुरा आएको छ। अहिले त स्थानीय राजनीतिक दलका प्रतिनिधि नै संलग्न भएका छन्। जोसुकै होस्, कारबाही हुन्छ।'
कुटपिटबाट महिलाको हातखुट्टा सुनिनुका साथै जीउभरि निलडाम बसेको छ। उनलाई बचाउन जाँदा छोरीमाथि पनि कुटपिट भएको बताइएको छ।
पीडित महिलाका पतिको दुई वर्षअघि मृत्यु भएको थियो।