कैलाली– आमाबुवाको राम्रो हेरचाह र स्याहार गर्ने दम्पतीलाई पुरस्कृत गरिने भएको छ।
वृद्ध सेवा समिति टीकापुरले ज्येष्ठ नागरिक हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कारको व्यवस्था गर्न लागिएको जनाएको छ।
समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि व्यक्तिगत रकमबाट पाँच लाखको अक्षयकोष स्थापना गरिएको बताए।
उनले भने, ‘कोषको ब्याजबाट आउने रकमबाट पुरस्कार दिइनेछ। सन्तान जिम्मेवार नबन्दा धेरै जेष्ठ नागरिकले ले दुःख पाएका छन्। जिम्मेवारीबोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौं।’
वृद्ध सेवा समिति टीकापुरले ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था, नागरिक तथा ज्येष्ठ नागरिकका हितमा कलम चलाउने सञ्चारकर्मीलाई समेत पुरस्कृत गर्दै आएको छ ।
समितिले नगद १० हजार रुपैयाँमा दरले हरेक वर्ष पुरस्कार दिइँदै आएको अध्यक्ष रावलले बताए।