एन आई सी एशिया बैंकले समयअनुरुप परिष्टिकृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको एन आई सी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको छ ।
ग्राहकले अब आफ्नो मोबाइल वा कम्प्युटरमार्फत् बैंकको वेबसाइटमा गएर नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । वेबसाइटमा रहेको लिंकभित्र पुगेर सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर भर्न सक्नेछन् ।
आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफूले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।
यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने ग्राहकले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आईसर्भ मार्फत सेवा दिईरहेको छ । उक्त सेवाहरू लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था बैंकले गरेको छ ।