बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुद्दा दर्तामा अख्तियारको रेकर्ड, ठूला प्रकरण छायामा

मुद्दा दर्तामा अख्तियारको रेकर्ड, ठूला प्रकरण छायामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो तीन दशक लामो इतिहासमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो तीन दशक लामो इतिहासमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ।

लकडाउनका बीच पनि २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्ममा ४४० वटा मुद्दा दर्ता गरेर अख्तियारले रेकर्ड कायम गरेको हो।

आर्थिक अनियमिता, नक्कली शैक्षिक प्रमाण पत्र, अकुत सम्पत्ति आर्जन, घुस/रिसवत, सरकारलाई हानी नोक्सानी लगायतमा अख्तियारले ४४० वटा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोरालाले आयोगको इतिहासमै एक आर्थिक वर्षमा यसपटक सर्वाधिक मुद्दा दर्ता गरिएको बताए।
आयोगका अनुसार सबैभन्दा धेरै घुस/रिसवतका २२२, निर्णयगत अनियमितताका ११५, नक्कली प्रमाण पत्रका ८५ तथा गैरकानूनी सम्पति आर्जनका १८ मुद्दा दर्ता भएका छन्।

अख्तियारले लकडाउन अवधिमै ९७ वटा मुद्दा दर्ता गरेको छ। अख्तियारले गएको आर्थिक वर्षमा दर्ता गरेको सबैभन्दा चर्चित मुद्दा बालुवाटार ललिता निवास प्रकरण हो।

सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनामा तत्कालीन उप प्रधानमन्त्रीसहित तीन मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी तथा व्यापारीसहित १७५ जनाविरुद्ध अख्तियारले मुद्दा चलायो।

प्रवक्ता कोइरालाले अख्तियारको सक्रियता बढेकै कारण मुद्दा दर्ताको संख्याले रेकर्ड कायम गरेको बताए।

अख्तियारले मुद्दा दर्तामा रेकर्ड कायम गरे पनि मुद्दा दर्ताका विषय विवादरहित भने हुन सकेनन्।

ललिता निवास जग्गा प्रकरणमै जसले प्रत्यक्ष लाभ लिए तिनिहरुलाई मुद्दा नचलाएर जसले हस्ताक्षर मात्रै गरेको छ उसलाई मुद्दा चलाएको भन्दै अख्तियारको आलोचना भैरहेको छ।

‘जसले सरकारी जग्गा नै नाममा गरे तिनलाई मुद्दा नै नचलाएर उन्मुक्ति दिने काम भयो’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘जग्गा आफ्नो नाममा गर्ने विष्णु पौडेललगायतकालाई उन्मुक्ति दिने अनि चन्द्रदेव जोशी जस्ता मान्छेलाई हस्ताक्षर गरेकै भरमा मुद्दा चलाउने काम न्यायोचित हुँदै होइन।’

अख्तियारले धेरै मुद्दा चलायो भन्दैमा खुसी नै हुनुपर्ने अवस्था नभएको अर्याल बताउछन्। संख्या बढाउनकै लागि मुद्दा चलाउनै नपर्नेको पनि मुद्दा चलाउने गरेकाले अख्तियारको कामले थुप्रैले अनावश्यक हैरानी खेप्नु परेको उनी सुनाउछन्।

भ्रष्टाचार बढेको भए पनि अख्तियार सानातिना मुद्दामा अल्झिएर ठूला मुद्दा ओझेलमा पार्दै आएको आरोप अर्यालले लगाए।

‘अख्तियार जस्तो संवैधानिक आयोगले दुई–चार हजार घुस खाएको मुद्दामा अल्झिएर ठूलठूला मुद्दालाई छायाँमा पार्ने काम भैरहेको छ’ अर्यालले भने, ‘माओवादी लडाकु शिविर घोटाला काण्डको अनुसन्धान कहाँ पुग्यो त्यसबारे अख्तियार बोल्दैन।’

काम देखाउनकै लागि आफैले पैसा दिएर स्टिङ अप्रेशसनका नाममा मान्छे पक्राउ गर्ने अख्तियारको काम पनि विवादित बन्दै आएको छ।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालयले पनि अख्तियारले सजिला मुद्दामा मात्र ध्यान केन्द्रित गरिरहेको बताए। ‘कर्मचारीतन्त्रमा भैरहेको भ्रष्टाचारमा मात्र अख्तियार केन्द्रित भैरहेको छ’ अर्यालले भने, ‘ठूला राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारतर्फ त ध्यानै दिएको पाइदैन।’

कर्मचारी तन्त्रमा अनुसन्धान गर्न राजनीतिक दबाब नआउने भएकाले त्यतातर्फ केन्द्रित भएर अख्तियारले राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारमा आँखा चिम्लिरहेको उनले आरोप लगाए।

प्रशासनतर्फ हुने भ्रष्टाचारमा सम्बन्धी निकायको प्रमुखलाई जिम्मेवारी बनाएर नियमनको जिम्मा दिँदै अख्तियारले सार्वजनिक महत्वका व्यक्ति तथा राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारमा केन्द्रित हुनुपर्ने अर्यालको सुझाव छ।

प्रकाशित: Jul 16, 2020| 15:50 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।