काठमाडौं– आर्थिक वर्ष २०७६/७७ मा सरकारी लक्ष्यअनुसारकै खर्च र राजस्व परिचालन भएको छ।
बुधबार गत आर्थिक वर्षको अन्तिम दिनसम्म १० खर्ब ८७ अर्ब रुपैयाँ बजेट खर्च भएको छ। सोही अवधिमा १० खर्ब ८० अर्ब रुपैयाँ आम्दानी भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट संशोधन गर्दै १० खर्ब ७३ अर्ब रुपैयाँ खर्च हुने अनुमानित विवरण सार्वजनिक गरेका थिए। गत माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रीले बजेटको आकार घटाएका थिए।
गत आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने सरकारी लक्ष्य पनि पूरा भएको छ। बुधबारसम्म ८ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।