काठमाडौं– राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा १७ वटा फर्म विरुद्ध ६ अर्ब ६० करोड विगो दाबी गर्दै उच्च अदालत पाटमा मुद्दा दायर गरेको छ।
विभागले एकै दिन यति धेरै फर्मविरुद्ध मुद्दा दायर गरेको यो पहिलोपटक हो।
विभागले बुधबार विहान चारवटा कम्पनी हाइटेक इन्टरनेसनल प्रालि, जेएसएस मोबाइल एन्ड सर्भिसेस प्रालि, श्याम इम्पेक्स र श्यामबाबा इन्टरप्राइजेजविरुद्ध नक्कली भ्याट बिल बनाएकोे, भन्सार छलेको र आयकर छलेको भन्दै तीन अर्ब ८२ करोड रुपैयाँ बिगो जरिवाना र कैद सजाय मागसहित ती कम्पनीका ६ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो।
त्यस्तै बेलुका १३ वटा कम्पनीले भ्याट छली गरेको भन्दै २२ जना सञ्चालकविरुद्ध दुई अर्ब ७८ करोड १९ लाख २१ हजार ९२६ रुपैयाँ बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागका अनुसार बुधबार बेलुकी उच्च अदालत पाटनमा वैष्णाे ट्रेड कन्सर्नलगायतका ९ वटा विभिन्न फर्मका १९ जनाविरुद्ध २ अर्ब १६ करोड ६५ लाख ४९ हजार ५३१ रुपैयाँ र जयमातादी इन्टरप्राइजेज समेत ४ वटा कम्पनीका तीन जना सञ्चालकविरुद्ध ६१ करोड ५४ लाख २२ हजार ३९४ रुपैयाँ राजस्व चुहावट गरेकोले भन्दै विगो असुल गरी जरिवाना र कैद सजाय समेतको माग दाबी गरी मुद्दा दर्ता गरेको छ।
ती कम्पनीले झुट्टा कर तथा नक्कली भ्याट बिजक जारी गरेको, मुअक र आयकरसमेतको राजस्व चुहावट गरेको विभागको ठहर छ।
विभागका अनुसार उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम कारबाही अगाडि बढाइएको छ।
विभागले बुधबार बेलुकी दर्ता गरेको मुद्दाका प्रतिवादीहरु राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिंकीकुमारी पन्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, राजेशकुमार कलवार, रुस्तम देवान, अमितकुमार श्रीवास्तव, रामइश्वर महतो, परेमेश्वर साह, मुकेशकुमार झा, राजाराम महतो सुढी, उर्मिला कुरमारी, नसिव कुमार झा, मुहम्मद नासुद्धिन आलम, नीलकण्ठ श्रेष्ठ, बाबुनन चौधरी कलवार, रोशनकुमार चौधरी र राज चौधरी हुन्।