पोखराकी शिरीष गुरुङ अचेल कहिले कास्की जिल्ला प्रशासन कार्यालयअगाडि त कहिले चिप्लेढुंगामा पम्प्लेटसहित उभिएकी हुन्छिन्। उनको यो एकल अभियान विगत एक महिनादेखि जारी छ।
लकडाउनका कारण पेसा व्यवसाय ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा उचित कदम चाल्न नसकेपछि उनी सडकमा उत्रिएकी हुन्।
हातमा ‘भोकमरी र बैंकको किस्ताले मर्न बाध्य हामी नेपाली, नेपाल आमा रुँदै छिन्, राष्ट्रियता जोगाऔं, अब म घुस खाऊँ कि बेसार, एमसीसी खारेज गरौं’ लेखिएका प्लेकार्ड हुन्छन्।
उनको माग छ– भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, मुलुकको अहितमा छ भने एमसीसी सम्झौता खारेज गर्नुपर्ने, कोभिड १९ नियन्त्रण गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने लगायत छन्। पीसीआर परीक्षणको दायरा नबढाएसम्म कोरोना संक्रमण दर नघट्ने उनले बताइन्।
उनी भन्छिन्, ‘कतिन्जेल चुप बस्ने? देशको अवस्था देखेर निद्रा लाग्नै छाड्यो। सुरुवात कोही न न कोहीबाट गर्नैैपर्छ। मेरो आवाज सरकारसम्म पुग्ला–नपुग्ला तर म पछाडि हट्दिनँ।’
चियागफ गरेर सरकारमाथि खबरदारी नहुने उनको बुझाइ छ। उनले भनिन्, ‘शान्तिपूर्ण विरोध नै खबरदारी गर्ने उत्तम उपाय हो। राज्यले जनतालाई गरेको व्यवहारविरुद्ध हामी जाग्नुपर्छ।’
उनले सरकारलाई दबाब नदिएसम्म केही हुन नसक्ने बताइन्। उनले भने, ‘यसका लागि लाखौं व्यक्ति सडकमा उत्रनुपर्छ।’
कोभिड संक्रमणले भन्दा भोकमरीले ज्यान जाने अवस्था रहेकाले राज्यले बेलैमा उचित कदम चाल्नुपर्ने उनी बताउँछिन्।
उनलाई कहिलेकाहीं ५–७ जनाको समूहमा उनलाई युवा वर्गले साथ दिइरहेका छन्। घामपानीको चिन्ता नमानी उनी दिनहुँ १ बजेदेखि ४ बजेसम्म सडकछेउमा प्लेकार्डसहित उभिएको देखिन्छिन्।
भन्छिन्, ‘मेरो आवाज रोकिँदैन। एक्लै भए पनि उभिनेछु। तीन महिनासम्म त म एक्लै मैदानमा उत्रिन तयार छु।’
मोबाइल चलाएर र टीभी हेरेर समय बिताउनु भन्दा राज्यको गलत गतिविधिविरुद्ध खबरदारी गर्न समय छुट्ट्याउनुपर्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘सपनामा मात्र बस्नु भएन। अब जाग्नुहोस्। हामीले आवाज उठायौं भने सरकारले राम्रो काम गर्न बाध्य हुनेछ।’
नागरिकबाटै सरकारलाई सचेत गराउन आवश्यक रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘नागरिक आवाजमा ठूलो शक्ति हुन्छ। सरकारको कार्यशैली परिवर्तन गर्न नागरिकले नै सक्नेछन्।’
