काठमाडौं- पोशाकमै टिकटक भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेको अभियोगमा मोरङमा दुई प्रहरी छानबिनमा तानिएका छन्।
इलाका प्रहरी कार्यालय, लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन चलिरहेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी मानबहादुर राईले प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि छानबिन थालिएको जानकारी दिए।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिकाविपरीत कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको राईले जानकारी दिए।
“भिडियोमा त उनीहरु दुई जना देखिएका छन्। तर, उनीहरुले नै सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् कि अरु कसैले गरेको हो भन्नेबारे अनुसन्धान चलिरहेको छ,” राईले भने।
उनीहरुले बनाएको टिकटक भिडियोमा अगाडिको टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटकी) पनि राखेको देखिन्छ।
निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगतरुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न मिल्दैन।
१६ सशस्त्र प्रहरी कारवाहीमा
सशस्त्र प्रहरी बलले पोशाकमा टिकटक भिडियो बनाएर पोस्ट गरेकै कारण असारभर १६ जनामाथि कारवाही गरेको छ। टिकटक भिडियो बनाएबापत ९ महिला र सात पुरुष जवान कारवाहीमा परेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
टिकटकको भिडियो हेरि नसियत र सचेत गराउने कारवाही गरिएको जनाइएको छ।
यसअघि टिकटकमा हतियारसहित अश्लिल भिडियो बनाएर पोस्ट गरेको अभियोगमा सशस्त्र प्रहरी बलले जवान बलबहादुर परियारलाई जागिरबाट बर्खास्त गरेको थियो।
परियारले टिकटकमा हतियार बोेकेर मान्छे मार्ने भन्दै भिडियो बनाएका थिए।